म्याग्दी मालिका गाउँपालिका-६,दरबाङ बजारकी लक्ष्मी चापाईलाई दरबाङ–धारापानी सडकखण्डका निर्माण ब्यवसायी मछुमन अर्गेजाले मजदुरलाई रासनपानी प्रयोग गरेको २ लाख ६८ हजार नतिरी भागेका छन् । बि.स २०८० साल भदौ ७ गते अर्गेजा कन्स्ट्रक्सनको नेपाल बैंकको चेक दिएर सम्पर्कविहिन भए ।
धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्ड अन्तर्गत दरबाङबाट धारापानीसम्मको सडक स्तरोन्नति योजनामा काम गर्न आएका बागलुङका अर्गेजाले मजदुरलाई किराना पसलबाट रासनपानीका साथै होटल बसेको र खाजा÷खाना खाएको नतिरी भागेपछि स्थानीय ब्यवसायीले सहयोगको याचना गरेका छन् ।
ठेकेदार अर्गेजाले मालिका गाउँपालिका–५थापाचौरकी कल्पना खत्रीलाई ५५ हजार ९सय,सनदेबी पूर्जाको ५० हजारको चेक दिएर सम्पर्कमा नआएको स्थानीय रबिन्द्र खत्रीले बताए । ‘ठेकेदारले पैसा नतिरी भागे, अहिले सम्पर्कमै आउँदैनन्’ थानीय ब्यवसायी खत्रीले भने।
थापाचौर, दरबाङ बजार तथा आसपासका क्षेत्रका ब्यवसायीबाट समेत उधारो खाएर विभिन्न बाहना बनाउने गरेको ब्यवसायीको गुनासो छ । ‘सरकारी निकायबाट भुक्तानी रोकिएको भन्दै स्थानीयलाई झुक्काएर भागेका छन्, फोन उठाउँदैनन’ दरबाङकी ब्यवसायी लक्ष्मी चपाईले भनिन् ।
जिल्ला प्रशासन कार्यालय, पूर्वाधार कार्यालयमा पुगेर पीडितले सम्पर्कमा ल्याइदिन अनुरोध गरेका छन् । दरबाङबाट धारापानीसम्मको करिब सात किलोमिटर सडकको अनुगमनमा गएका जनप्रतिनिधि सहित सरोकारवाला निकायलाई समेत तत्कालिन समयमा स्थानीयले आफ्नो गुनासो राखेको ब्यवसायी चापाईको भनाई छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत १४ करोड ३८ लाख ६७ हजार एक सय ७६ मा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते बहुवर्षीय ठेक्का सम्झौता गरी ०८० साल माघ महिनामा सडक नै हस्तान्तरण गरिएपनि कम्पनीमार्फत काम गरेकाले प्रयोग गरेको रासनपानी, होटलको बिल भुक्तानीका लागि पटक–पटक सहयोग मागेपनि बेवास्ता भएको पीडित ब्यवसायीको गुनासो छ ।
यसैबीच पूर्वाधार कार्यालय म्याग्दीले निर्माण ब्यवसायीलाई भुक्तानी गरिसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा पुगेका पीडितलाई निर्माण ब्यवसायीलाई रकम भुक्तानी नगरे प्रहरीमार्फत नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता प्रजिअ ढकालले दिएका छन् । निर्माण ब्यवसायी मछुमन अर्गेजा बागलुङको बुर्तिवाङ क्षेत्रका बसोबास गर्ने बताइएको छ ।