उदाहरणीय व्यक्तित्व शारदा मल्ल

0
51

“पूरा जीवन एक अनुभव हो । तिमी जति प्रयोग गर्छौ उति नै यसलाई उत्कृष्ट बनाउन सक्छौ ।” – राल्फ वाल्डो एमर्सन ।
योग सिद्धान्त होइन प्रयोग हो । हामी जति धेरै प्रयोगमा जान्छौं, त्यति नै धेरै अनुभव पाउँछौं । वास्तवमा अनुभव नै शुद्ध ज्ञान हो । ज्ञानले मनुष्य जीवनलाई परिपक्व बनाउँदै लैजान्छ । ज्ञानले मनुष्य जीवनलाई शक्तिशाली बनाउँदै लैजान्छ । ज्ञानले मनुष्यको जिन्दगीलाई धन्य बनाउँदै लैजान्छ । आजको दुनियाँमा जताततै रोग, शोक, अशान्ति, कलह, हत्या, हिंसा जस्ता नकारात्मक भावनाहरु दिनप्रतिदिन फैलिरहेको देखिन्छ ।

यहाँ हजारौं मन्दिरहरु छन्, हजारौं बौद्ध विहार छन् । हजारौं मस्जिद छन्, हजारौं चर्च घरहरु छन् । तर यी सबै कुराहरुले मनुष्यलाई थोरै थोरै राहत दियो तर मुक्तिको उपाय दिन सकेन अर्थात् दुःख समस्याहरुको हाँगाबिंगा हटाउने कुरा ग¥यो तर समस्याको जरासम्म पुग्ने कुरा गरेन किनकी यिनीहरु सिद्धान्त र कर्मकाण्डहरुमा मात्रै आधारित रहे, प्रयोगका विषयतिर कहिल्यै आँखा उठाएनन् ।

फलस्वरुप अज्ञानता झनझनै जटिल, स्थायी बन्दै गयो । यही अज्ञानताले नै सारा दुःखहरु सृजना गर्दै गयो । यही कारण जीवनसँग दुःख छ । यतिबेला भगवान बुद्धको चार आर्यसत्यको याद आइरहेको छ ।
पहिलो – दुःखम् – जीनवन दुःखले भरिपूर्ण छ ।
दोस्रो – दुःख समुदय – यो दुःखको कारण विद्यमान छ ।
तेस्रो – दुःख निरोध – यो दुःखबाट वास्तविक छुटकारा (मुक्ति) पाउन सकिन्छ ।
चौथो – निरोधगामिनी – यी दुःख जो नाशका लागि वास्तविक बाटो छ ।

यहाँ बुद्धका चार आर्य सत्य घुमाउरो छैन । रेखा जस्तै सिधा छ, वैज्ञानिक छ साथै व्यवहारिक छ । हामीले हाम्रा दुःखलाई स्थायी रुपमा मेटाउने हो भने हामी ज्ञान पुरुषहरुले देखाएको मार्गलाई अनुसरण गर्नुपर्छ । बुद्ध महात्माहरुले प्रतिपादन गरेका दिव्य सुत्रहरुलाई पछ्याउँदै जानुपर्छ अर्थात् ज्ञानलाई व्यवहारिकतामा उतार्दै जानुपर्छ । योगलाई प्रयोगमा ल्याउनुपर्छ । हामी जतिजति योग रुपी प्रयोगशालामा घोत्लिँदै जान्छौं । त्यतित्यति नयाँनयाँ अनुभव र अनुभूतिहरु लहराउन सुरु गर्नेछ । त्यतिबेला मनका खण्डहरुमा अल्झेर रहेका मनका अनगिन्ती भ्रम र मिथ्या ज्ञान बिस्तारै विस्थापित हुँदै जानेछ तत् पश्चात्का मानव जिन्दगीले अनपेक्षित रुपमा गति लिँदै जानेछ । पल प्रति पल श्वास प्रश्वास सुखद बन्दै जानेछ । क्षण प्रति क्षण दिलमा अमन चयनको आँधी चल्नेछ । त्यस वखत जीवन जिउनुको मज्जा नै बेग्लै हुनेछ, सानदार हुनेछ । योगको प्रयोगबाट सुनौला अनुभव हासिल गर्दै आफ्नो जीवन सानदार बनाउन सफल भएको एक उदाहरणीय व्यक्तित्व हुन् शारदा मल्ल ।

उहाँको जन्म पिता रिपु मल्ल र माता रिनुदेवी मल्लको कोखबाट वि.सं. २०३७ साल वैशाख महिनाको २२ गतेका दिन भारतको पुनामा भन्ने ठाउँमा भएको हो । जलजला गाउँपालिका ५ मल्लाज स्थायी घर भएका मल्लले प्रारम्भिक शिक्षा भारतमै लिनु भएको थियो । नेपाल फर्केपछि बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयको कक्षा ६ मा भर्ना भई अध्ययन सुरु गरेकी मल्लले वि.सं. २०५२ सालको एसएलसी परीक्षामा उत्तीर्ण गर्नु भएको थियो । यसपछि उच्च शिक्षा म्याग्दी बहुमुखी क्याम्पस बेनीमा अध्ययन गर्नु भएको थियो । वि.सं. २०५४ सालमा राजु पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएकी मल्लले आफ्नो क्याम्पसको अध्ययन कार्यलाई बीचैमा पूर्ण विराम लगाई फेन्सी व्यापारमा दत्तचित्त भएर लागिन् ।

फलस्वरुप छोटो समयमा नै बेनी न्युरोडको सफल व्यापारीको रुपमा आफूलाई दर्जाएकी मल्लका दम्पत्ति धनको उचित रुपले सदुपयोग गर्न र सम्पत्तिलाई परिचालन गर्न ज्यादै चलाख तथा सिपालु हुनुहुन्थ्यो । यही कारण छोटो समयमै आफ्ना संघर्षशील पाइलाहरुलाई सडकबाट गगनचुम्बी महलसम्म पु¥याउन सफल हुनुभएको छ । फकिर जस्तो विगतको जिन्दगीबाट अमीरको जिन्दगी यात्रामा प्रवेश गर्नुभएको छ । धनदौलतले भौतिक जीवनमा पर्याप्त समृद्धि ल्यायो तर आफ्नो मनमा अमन चयन ल्याउन सकेन ।

पैसाको थुप्रोले जीवनस्तर उचाल्यो सुख, सुविधा एवम् आर्थिक प्रसिद्धि हात लाग्दै गयो । तर यसको साथसाथै शारीरिक स्वास्थ्य, मनको शान्ति र आनन्द गुम्दै गयो । यही कुराको महसुस गरेकी मल्लले आफ्नो जीवन पद्धतिसँग योग अध्यात्म जोडेर अगाडि बढ्ने निष्कर्षमा पुगिन् र वि.सं. २०६८ फागुन महिनाबाट बेनीको शिवालय हलमा चलिरहेको योग साधना हालमा जोडिन पुगिन् ।

त्यही दिनबाट उहाँको जीवनमा नयाँ आयाम थपियो । प्रबल इच्छा शक्ति, दृढ संकल्प र निडर स्वभाव भएकी मल्लले यतातिर पनि अनौठो प्रतिभाको विकास गर्दैै गइन् । परिणाम स्वरुप छोटो समयमै दक्ष योग प्रशिक्षकका रुपमा आफूलाई उभ्याउन सफल भएकी मल्लले म्याग्दी जिल्लालाई योगमय बनाउनुका साथै भान्सा कोठामा सीमित भएर कुण्ठित जीवनयापन गरिरहेका हरेक नारीहरुलाई योगसाधनाको फराकिलो संसारमा ल्याउन प्रेरणादायी भूमिका निभाउनु भएको थियो । जसले गर्दा बेनीबजारका महिला दिदीबहिनीको संकुचित जीवनमा आमूल परिवर्तन ल्याइदिनुभएको कारणले आज आफ्नो परिचय दिन नसक्ने थुप्रै दिदीबहिनीहरुले योग प्रशिक्षक बनी योग प्रशिक्षण दिइरहेका छन् । यसर्थ यसको पहिलो श्रेय शारदा मल्ललाई नै जान्छ ।

योग प्रशिक्षक र रेकी दोस्रो डिग्रीसम्मको दिक्षा वि.सं. २०६९ सालको बेनीमै लिनुभएको मल्लले ध्यानको दिक्षा डा. योगी विकासानन्द ज्यूबाट लिनुभएको हो ।
“तपाईं कति लामो समयम्म पृथ्वीमा बिताउँदै हुनुहुन्छ कति धनदौलत संकलन गर्नुभएको छ भन्ने कुराले खासै फरक पार्दैन । जीवनमा तपाईंले फैलाएको सकारात्मक उर्जा नै महत्वपूर्ण हुन्छ ।” – अमित रे ।

निरन्तर योग ध्यानको साधनामार्फत् आफूलाई उज्याएर धारिलो बन्दै शारीरिक तथा मानसिक रुपमा स्वस्थ, सुन्दर र सुखी जीवन व्यतित गरिरहेकी मल्लले वि.सं. २०८० सालमा अन्नपूर्ण २ भुरुङ्गतातोपानीमा नेचुरल स्प्रिङ नामक धवलागिरी अञ्चलकै भव्य होटल स्थापना गरी हजारौं पर्यटकहरुलाई सेवा सुविधा दिनुका साथै योग अध्यात्मको सन्देश र सकारात्मक उर्जा फैलाउँदै लोभलाग्दो जिन्दगी बिताइरहेकी मल्ल नवीन आनन्द योग केन्द्र नेपाल म्याग्दीका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ योग प्रशिक्षक समेत हुनुहुन्छ ।