स्थानीय ठग्दै ठेकेदार ! रासनपानीको चेक दिए तर साटिएन

0
19

म्याग्दीमा निर्माण ब्यवसायीबाट मजदुर र स्थानीय ब्यवसायी ठगिने क्रम रोकिएको छैन । निर्माण क्षेत्रमा काम गर्ने मजदुरदेखि मजदुरलाई रासनपानी र होटल बसेको र खाजा÷खाना खाएको पैसा समेत नदिइ भाग्ने ठेकेदारबाट स्थानीय हैरानीमा परेपछि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन्

म्याग्दी मालिका गाउँपालिका-६,दरबाङ बजारकी लक्ष्मी चापाईलाई दरबाङ–धारापानी सडकखण्डका निर्माण ब्यवसायी मछुमन अर्गेजाले मजदुरलाई रासनपानी र होटल बसेको र खाजा÷खाना खाएको भन्दै पैसा नभएको चेक दिएर भागेपछि स्थानीय ब्यवसायीले जिल्ला प्रशासन कार्यालयमा सहयोग मागेका छन् ।

निर्माण ब्यवसायी अर्गेजाले लक्ष्मी चपाईलाई रासनपानी प्रयोग गरेबापत बि.स २०८० साल भदौ ७ गते अर्गेजा कन्स्ट्रक्सनको नामबाट२ लाख ६८ हजार, ठेकेदार अर्गेजाले मालिका गाउँपालिका–५थापाचौरकी कल्पना खत्रीलाई ५५ हजार ९सय,सनदेबी पूर्जाको ५० हजारको चेक दिएका थिए ।

निर्माण ब्यवसायी अर्गेजाबाट अन्य स्थानीय ब्यवसायी समेत समस्यामा परेको पीडितहरुको भनाई छ । थापाचौर, दरबाङ बजार तथा आसपासका क्षेत्रका ब्यवसायीबाट समेत उधारो खाएर भागेकाको खोजीकार्य हालसम्म कुनै चासो नभएपछि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालमार्फत सहयोग मागेको दरबाङकी ब्यवसायी लक्ष्मी चपाईको भनाई छ ।

म्याग्दीमा साना ठुला निर्माण क्षेत्रमा काम गरेका मजदुर र ब्यवसायीलाई ठेकेदारले समस्या दिने गरेको भन्दै यसअगाडी समेत प्रशासन र प्रहरीमा सहयोगको याचना गर्ने गरिएको थियो ।

दरबाङबाट धारापानीसम्मको करिब सात किलोमिटर सडकको अनुगमनमा गएका जनप्रतिनिधि सहित सरोकारवाला निकायले समेत स्थानीय ब्यवसायीको समस्यालाई बेवास्ता गरेका थिए ।

सडक उद्घाटन र हस्तान्तरणको हतारमा स्थानीय ब्यवसायीको समस्यालाई जनप्रतिनिधिले समते आँखा चिम्लिएको स्थानीयको गुनासो छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत १४ करोड ३८ लाख ६७ हजार एक सय ७६ मा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते बहुवर्षीय ठेक्का सम्झौता गरी ०८० साल माघ महिनामा सडक नै हस्तान्तरण गरिएको थियो ।

यसैबीच पूर्वाधार कार्यालय म्याग्दीले निर्माण ब्यवसायीलाई भुक्तानी गरिसकेको जनाएको छ । सडकखण्डको काम सम्पन्न भएपछि भुक्तानी मुख्य ठेकेदारलाई गर्ने र उक्त सडकखण्डमा तिर्नुपर्ने निर्माण ब्यवसायीसँग आफ्नो कुनै सम्बन्ध नहुने कार्यालयले जनाएको छ ।

यता निर्माण ब्यवसायी अर्गेजालाई प्रहरीको सहयोगमा भएपनि उपस्थिती गराएर भुक्तानी दिने वतावारण बनाउने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । निर्माण ब्यवसायी मछुमन अर्गेजा बागलुङको बुर्तिवाङ क्षेत्रका बसोबास गर्ने बताइएको छ ।