म्याग्दी जिल्लाका प्रमुख नदीहरू कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरिमा हाल १२ जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । यी सबै आयोजनाबाट निर्माण कार्य सम्पन्न भएसँगै करिब ४५६.५ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिने भएको छ।
पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट सञ्चालनमा आएका चार आयोजना— निलगिरि दोस्रो (७१ मेगावाट), मिस्त्रीखोला (४२ मेगावाट), घारखोला (१४ मेगावाट) र घलेम्दीखोला (५ मेगावाट)—ले संयुक्त रूपमा १११ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिसकेका छन्।
हाल निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरूमा ४०.७ मेगावाटको निलगिरि पहिलो, ३७.५ मेगावाटको मङ्गले राहुघाट, र ६ मेगावाटको रेलेखोला रहेका छन् । यी आयोजनामध्ये केही यसै आर्थिक वर्षभित्र र बाँकी आउँदो वर्षसम्म केन्द्रीय प्रसारण लाइनमा जोडिने योजना रहेको छ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिकामा ६६.५ मेगावाट क्षमताको मध्यकालीगण्डकी आयोजना निर्माण सुरु भइसकेको छ भने १८० मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजना अहिले वित्तीय स्रोत जुटाउने चरणमा छ। यस आयोजनाको अनुमानित लागत रु ३९ अर्ब ५० करोड २४ लाख रहेको छ।
रघुगङ्गा गाउँपालिकाभित्र पर्ने राहुघाट खोलामा पनि विभिन्न आयोजना निर्माणाधीन छन्—४० मेगावाटको राहुघाट, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २२.५ मेगावाटको ठूलोखोला माथिल्लो ‘ए’। यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएका छन्।
म्याग्दीखोला जलाधार क्षेत्रभित्र दरबाङ म्याग्दीखोला (२५ मेगावाट), अपर म्याग्दी–१ (५३ मेगावाट), र अपर म्याग्दी (३७ मेगावाट) आयोजना निर्माण तीव्र रूपमा अघि बढिरहेका छन् भने ५७ मेगावाट क्षमताको म्याग्दीखोला आयोजना पहुँचमार्ग निर्माणको चरणमा रहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए।
बेनीदेखि मुस्ताङको घाँसासम्मको ३७ किमी क्षेत्रमा पर्ने कालीगण्डकी नदीमा १८० मेगावाटको कालीगण्डकी गर्ज, ६६.५ मेगावाटको मध्यकालीगण्डकी, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपर कालीगण्डकी र ५०.५३ मेगावाटको बेनी कालीगण्डकी आयोजना विद्युत् विकास विभागसँग सम्झौता गरी निर्माण प्रक्रियामा छन्। तर, बेनी कालीगण्डकी आयोजनाको एलाइनमेन्टमा सदरमुकाम बेनी पर्ने भएकाले हाल प्रक्रिया अवरुद्ध भएको छ।
यिनै आयोजनाहरूलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न २२० केभी क्षमताको कालीगण्डकी करिडोर अन्तर्गत दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण भइसकेको छ। साथै, १३२ केभीको डाँडाखेत–राहुघाट प्रसारण लाइन तथा सबस्टेशन पनि निर्माणाधीन अवस्थामा छन्। गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार प्रसारण संरचना निर्माणसँगै जलविद्युत् आयोजनाहरूले उल्लेखनीय गति लिएका छन्।