उत्तर फर्केर हेर्दा चाँदीझै टल्कने सेता हिमाल । दन्ते लहर जस्तै एकदर्जन हिमश्रृंखलाका साथै वरपरका डाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन् । बिहानीपख सूर्योदयले मनमा झन् आनन्द थपिदिन्छ । बिहानीको सुर्योदय र चाँदी झै टल्कने हिमालमा घाँमको किरणको छिर्का ठोकिएको दृश्यको बयान समेत गर्न सकिन्न ।
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका–३ओखलेको शिरमा अवस्थित नयाँ र सुन्दर पर्यटकीय गन्तब्य बेलढुङ्गामा पुग्ने जो कोही पर्यटकले फरक अनुभती गर्छन् ।
समुद्री सतहदेखि दुई हजार ६ सय ८७ मिटर उचाइको बेलढुङ्गाबाट संसारकै सातौं अग्लो धौलागिरी हिमाल, १० औं आग्लो अन्नपूर्ण हिमाल सहित पूर्बी रुकुम र म्याग्दीको सिमानमा अवस्थित पुथा हिमाल, म्याग्दीको गुर्जा,निलगिरी, मानापाथी, गणेश हिमाल,कास्कीको माछापुच्छे, गोरखाको मनास्लु, गंगा पूर्व, लमजुङ लगायतकालोभलाग्दो हिमालको लस्करसिधै आँखामा ठोकिन्छ ।
सेता हिमालको तल बादल, स्वच्छ पहाड, आसपासमा बनजंगलको मनोरम दृश्य । म्याग्दीका अन्य पर्यटकीयस्थलभन्दा यहााँबाट धेरै हिमश्रृंखला देखिन्छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेलढुंगा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको बेनी नगरपालिका–३ भकिम्लीका वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।
बेलढुंगासँगै स्वर्गाआश्रम क्षेत्रमा बैशाख १ गते आज पूजाआजा सहित चहलपहल हुन्छ । आन्तरिक पर्यटकले यस क्षेत्र भरिभराउन हुने स्वर्गाआश्रम क्षेत्र विकास कोषका अध्यक्ष रत्न जिसीले बताउनुभयो ।
अहिले गुलजार बनेको बेलढुङ्गा एक दशक अघिसम्म गुमनाम थियो । सडकको म्याग्दी र बागलुङ दुवैतिरबाट पहुँच, पदमार्ग निर्माण, होमस्टे, पार्किङ लगायतका पूर्वाधार बनेपछि यहाँ अहिले दैनिक पर्यटक बढेका छन् । हिउँदमा हिउँ खेल्न र गर्मीमा शीतलको खोजी गर्दै यहाँ आउनेहरुले चहलपहल बढाएको छ ।
अहिले बागलुङको काँठेखोला गाउँपालिका–३ओखलेमा होमस्टे समेत रहेकाले घरबासमा रमाउने समेत गरेका छन् ।म्याग्दीखण्डमा समेत होमस्टे सहितका सुविधाका लागि तयारी भइरहेको स्थानीय अगुवा पृथबहादुर पुनले बताए ।देउराली धुरिदेखि बेलढुङ्गासम्म स्लेट ढुङ्गाको ५ सय २५ सिँडी बनेको छ । ढुङ्गा विच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै उकालो छिचोलेपछि करिब १० मिनेटमा बेलढुङ्गा पुग्न सकिन्छ ।
२०७७ साल भदौमा बेल आकारको ढुङ्गा दुई हजार ११८ मिटरको उचाइमा थियो। २०७२ सालको भूकम्पको पटक–पटकको धक्का र ढुामा बनाइएका केही संरचनाका कारण माथिल्लो भाग भत्किएपछि स्थानीयको सक्रियतामा जुरुक्क उठेको छ ।
रुकुमदेखि गोरखा र लमजुङ जिल्लासम्मका हिमालहरु देख्न पाइने बताए । म्याग्दीको सदरमुकाम बेनीबाट करिब १८ किलोमिटरमा सवारीसाधनबाटै पुग्न सकिने र करिब १० मिनेट पैदलयात्रा गरेपछि पुगिने बेलुढुंंगा प्राकृतिक भ्यूटावर समेत हो ।
पर्यटन प्रवद्र्धनका लागि उपयुक्त स्थल भएकाले यहाँबाट देखिने दृष्यले यात्राको क्रममा हुने थकान मेटिन्छ । यस क्षेत्रको विकास गर्न सके ग्रामीण पर्यटनसँगै स्थानीयवासीको आय आर्जनमा सुधार तथा स्थानीय तहको आन्तरिक आम्दानीमा समेत वृद्धि गर्न सकिन्छ ।