आज विक्रम संवत् २०८२ साल वैशाख १ गते । नयाँ वर्षको पहिलो दिन, एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । पुराना अभिलेखहरू हेर्ने हो भने, विक्रम संवत्बाहेक अरु थुप्रै संवत्हरूबारे उल्लेख पाइन्छ
मीन राशि समाप्त भई मेष प्रारम्भ हुनासाथ अर्थात मेषमा सूर्यले प्रवेश गरेको दिन वैशाख १ गतेदेखि विक्रम संवत्को नववर्ष प्रारम्भ हुन्छ ।
‘अथ सूर्यवंश प्रभावान्नेेपाले किराँत राजन निजित्य लिच्छवी वंश प्रवर्ततेः ।’- -पशुपति पुराण) अर्थात् सूर्यवंशी लिच्छवी राजाकोे प्रभावले किराँत राजालाई जिती लिच्छवीवंश सुुरु भएपछि लिच्छवीवंशका पहिला राजा धर्मपाल, भूमिवर्मा विक्रमादित्य उपाधिबाट पुकारिएका सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाबाट विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम संवत् उठान भएको हो ।
वैदिककालदेखि चल्दै आएका महिना, बार, थितिहरूलाई निरन्तरता दिई राष्ट्रिय संवत्को रूपमा यो संवत् प्रचलित हुँदै आएकोछ । हिमवत्खण्डका स-साना राज्यहरू सेनवंशी, बाइसी, चौबीसी तथा काठमाडौं उपत्यकालगायत ब्रह्मपुत्रदेखि गंगाको आसपाससम्म विक्रम संवत् चलनचल्तीमा आएका प्रमाणहरू छन् ।
विक्रम संवत्लगायत इतिहासको फेरबदलमा नेपालमा चलिआएका शक संवत्, नेपाल संवत्हरू तिथिको आधारमा मात्र चलिरहेको र तिथिहरू ग्ाडबड भइरहने हुँदा शासन व्यवस्थामा असजिलो भएकाले सुव्यवस्थाको लागि चन्द्रशमशेरले ज्योतिषीहरूको सम्मेलनबाट सल्लाह लिएर तिथि र बारहरूमा तलमाथि नगरी विक्रम संवत् १९६१ मेष संक्रान्ति वैशाखदेखि १ गते प्रारम्भ गरी गतेमा लेख्ने चलन चलाएका हुन् ।
विक्रम संवत्भन्दा १३५ वर्षपछि शक संवत्को उठान र ९३७ वर्षपछि नेपाल संवत्को उठान भएको हो । विक्रम संवत्को वर्षमा ३६५ दिन र शक संवत् र नेपाल संवत्का ३५४ दिन मात्र हुने हुँदा विक्रम संवत् व्यावहारिक हुनगएको छ । विक्रम संवत् जेठो संवत् भएकाले ऐतिहासिक तथ्यलाई जीवन्त राख्न सफल बनेको छ ।
इतिहासविद् नयनाथ पौड्यालले नेपालको पुरातत्त्व विभाग राष्ट्रिय पुस्तकालयबाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजाबारे किंवदन्तीहरू प्रस्तुत गर्दै बज्रयोगिनीबाट पारसमणिसहित आसिरवाद प्राप्त गरेको राजप्रसादको दक्षिणतर्फ -हालको नारायणहिटी) चतुर्मुख नारायण स्थापित गरी जोडीधारा बनाई तीर्थस्थल समेत बनाई विक्रम संवत् चलाएको कुरा उल्लेख गरेका छन् । योगी नरहरिनाथले देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा राजसिंहसान थियो भन्ने पाइन्छ, भन्नुभएको छ ।
लिच्छवी शासनकालमा निर्मित हरिसिद्धि मंन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत् ९४५ मा हरिसिद्धिनाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । त्यसपछि त्यसरी नैं मल्लकालभरि विक्रम संवत् चलनचल्तीमा भएको कुरा अभिलेखहरूमा प्राप्त छन् ।
पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि वसन्तपुर दरबारको अभिलेखमा ‘राजा पृथ्वीनाराण शाहको वंश गुहृयेकाली र पशुपतिका दुई पाउका धूलाका प्रसादले स्थिर भइरहोस्’ भनेर विक्रम संवत् १८२५ उल्लेख गरेका थिए । इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्- विक्रम संवत्को प्रचलन मध्यकालमा बाइसी-चौबीसी, सेन, मल्ल, शाह राजाहरूले विक्रम संवत् चलाउँदै आएका थिए । केन्द्रका तीन सहरका मल्ल राज्यहरूमा पनि पूर्व मललकालदेखि नै. अभिलेख, हस्तलिखित, पाण्डुलिपिका पुक्ष्पिका वाक्यहरूमा विक्रम संवत्को प्रयोग हुँदै आएको थियो ।
भक्तपुरमा नववर्ष प्रारम्भ हुँदा धमधामसाथ बिस्केटजात्रा मनाइन्छ । तराईमा थारूहरू वैशाख सुरु हुने दिनदेखि नैं सिरुवाजात्रा मनाउँछन् ।’ त्यस्तै अरुणकुमार पाण्डे लेख्छन्- सृष्टिको आरम्भमा सूर्यलगायतका ग्रहनक्षत्र सून्य अवस्थामा रहेको र त्यही शून्यमा विक्रम संवत्को गणनापद्धति सुरु हुन्छ । विक्रम संवत विश्वब्रह्माण्डका ग्रहगति र प्रकृतिसँग सापेक्ष छ । नेपालमा यसले सबै जाति, भाषा, धर्म र संस्कृति र विविधतालाई समिटेको छ ।’
संवत्हरूको विषयमा विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान् खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लगी लिच्छवीकालमा उल्लेखित संवत्हरूलाई विक्रम संवत् ठहर्याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन- ‘मानदेवको सम्वत् ३८६ को चाँगुको अभिलेखको संवत् विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् ।’
नेपाल संवत्मा वर्षमा ३५४ दिन र तिथिबाट मात्र चल्ने र विक्रम संवत्को वर्षमा ३६५ दिन, गतेलगायत तिथि, बारमा आवद्ध रहँदै आएको र शक संवत्भन्दा १३५ वर्ष र नेपाल संवत्भन्दा ९३६ वर्ष जेठो संवत् भएकाले यसको एतिहासिक गरिमा छ । ज्योतिषी पंं. सूर्यप्रसाद ढंुगेल भन्नुहुन्छ, ‘विक्रम संवत् प्रकृतिसँग आवद्ध छ ।
दिन र रात सूर्यले नैं निर्धारण गर्ने र सूर्यले एक वर्ष अर्थात् ३६५ दिन १५ घडी ३१ पला ३१ प्रतिपला, यति समयमा एक चक्कर ३६० डिग्री पूरा गरेको हुन्छ । सूर्यले जब ३६० डिग्री अर्थात् राशि, अंशा, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन राशि समाप्त भई मेष राशि सूर्यमा प्रवेश गर्छन् र विक्रम संवत्अनुसार नयाँ वर्ष प्रारम्भ हुन्छ । यसैगरी ३० अंशको एक महिना हुने हँदा पहिलो ३० अंश सिद्धिएपछि वैशाख सिद्धिएर ज्येष्ठ महिना प्रारम्भ हुन्छ । यही क्रमबाट ३०।३० अंश काटेपछि वर्ष पूरा हुन्छ ।’