म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले शुभकामना आदानप्रदान तथा बाविक्यू कार्यक्रम आयोजना गर्दै नेपाली नयाँ बर्ष २०८२ लाई स्वागत गरेको छ । आइतबार सिड्नीस्थित टेम्पे पार्कमा एक आपसमा शुभकामना आदानप्रदान, विविध मनोरञ्जनात्मक साँस्कृतिक र साँगेतिक प्रस्तुतीसँगै खेलकुद प्रतियोगिताहरु पनि सञ्चालन गरिएको थियो ।
मोना अस्ट्रेलियाका अध्यक्ष सुसन श्रेष्ठले संस्थाको बार्षिक कार्यक्रम अनुसार नयाँ बर्षको स्वागत र म्याग्देलीहरुबीच जमघटसँगै भाइचाराको विकास गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष उत्तम पुनले म्याग्देलीहरुको एकतालाई थप मजबुत बनाउँदै लैजानुपर्ने बताए । मोनाको न्यू साउथ बेल्स राज्य समितिका संयोजक याम बहादुर बुढाथोकीले स्वागत तथा महासचिब बाबुराम पौडेलले सञ्चालन गरेको कार्यक्रममा मोनाका पूर्वअध्यक्षहरु, पदाधिकारी, सदस्य एवम् म्याग्दीबासीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा, आयोजित लठो तान्ने प्रतियोगितामा पर्वत बेनी विजेता र धौलागिरि गाउँपालिका उपविजेता बनेको थियो । विजेता टोलीका सदस्यहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा, म्याग्देली कलाकार तथा लोकगायक पदम विश्वकर्मा, लोकगायकि मिलन विश्वकर्मा तथा कौडा गायक गणेश गुरुङ लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।
कार्यक्रममा, धौलागिरि नौमति बाजा समूहले माहोल थप मनोरञ्जनात्मक बनाएका थिए भने मोनाले मार्फत विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने खेलाडीहरु, मोनाका सहयोगी संस्थाहरुलाई प्रशंसा र कदरपत्रले सम्मान गरिएको थियो ।