नियतबस दुर्घटना गराएर भागेका चालक अझै भेटिएनन्

0
74

म्याग्दीको बेनी नगरपालिका-६,जोगीगाडेमा ट्याक्टर चालकले बृद्ध महिलालाई एकान्तमा लगेर गरगहना लुटपाटका लागि ट्याक्टरले किचेर गम्भीर घाइते बनाएको आफन्तले बताएका छन् ।

गत बैशाख १ गते साँझ सदरमुकाम बेनी आाउँदै गर्दा स्थानीय ६१ बर्षिया डोलकुमारी बानियाँको साथमा भएका गरगहना लुट्ने पर्वतको जलजला गाउँपालिका-४,लामाखेतका १९ बर्षिय चालक अनिल परियारले ट्याक्टरबाट झारेर ब्याक गरी किचेर गम्भीर घाईते बनाएको परिवारका सदस्यले बताएका छन् ।

चुत्रेनीबाट घरबाट खाना पकाउने खाली सिलिन्डर लिएर बेनीबजार जाने क्रममा बृद्धा डोलकुमारीलाई एकान्तमा भाडा माग्ने बाहनामा शरीरमा लगाएको गरगहना लुट्ने प्रयासमा ट्याक्टरले किचेर टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

पीडित डोलकुमारीका आफन्तले दिएको जानकारी अनुसार ट्याक्टरमा सिलिन्डर राखेर बेनी ल्याउँदै गर्दा करिव ३ सय मिटर एकान्तमा पुगेपछि ट्याक्टर विग्रियो भन्दै ब्याक लिएर दुर्घटना गराएको आफन्तको भनाई छ । लुटपाटको नियतले घटना गराएको पीडित डोलकुमारीका आफन्तको भनाईलाई अभियुक्तको विगतका गतिविधिले समेत पुष्टी गर्ने आधार देखिएको छ ।

चालक परियारले ट्याक्टर लिएर महारानीथान क्षेत्रमा छोडेर गएको र खाली सिलिन्डर नभेटिएकोजिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बताए । ‘‘अभियुक्तको खोजीकार्य भइरहेको छ, जहाँ भएपनि पक्राउ गरी कानुन अनुसार सजाय दिन्छौ’’ प्रहरी निरीक्षक समेत रहेका सूचना अधिकारी पौडेलले भने ।

पीडितलाई बेनी–दरवाङ सडक निर्माणमा संलग्न निर्माण ब्यवसायी निराजन खतिवडालाई उपचारमा आवश्यक सहयोग गर्न समेत प्रहरीले निर्देशन दिएको छ । घाईते डोलकुमारीको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

अभियुक्त परियारको यसअगाडीको घटनालाई हेर्दा आफुँ अनुकुल नभए घटना घटाएर भाग्ने गरेको देखिन्छ । अभियुक्तसँग चालक अनुमतिपत्र (लाइसेन्स) समेत नरहेको प्रहरीले जनाएको छ ।

यसैबीच चालक अभियुक्त परियारले यसअगाडी बागलुङमा नियतबस ट्याक्टर दुर्घटना गराएको र लागुऔषधको सेवनमा समेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेर निस्किएको पाइएको छ ।स्थानीय महिला डोलकुमारीलाई ठक्कर दिदाँ समेत चालक परियारले मदिरा सेवन गरेको आशंका प्रहरीले गरेको छ । अपराधिक मानसिकताका परियारलाई प्रहरीले बि.स २०८० साल भदौ १६ गते लागुऔषधको सेवनको क्रममा नियन्त्रणमा लिएको थियो ।

घटनापछि के–के गरे परियारले

बैशाख १ गते साँझ डोलकुमारीलाई नियतबस घाईते बनाएर फरार भएका अभियुक्त परियारले प्रहरीबाट बच्न महारानी थान क्षेत्रमा ट्याक्टर पार्किङ गरी आफ्नी आमा शान्ति परियारको कोठामा पुगेका थिए । त्यहाँ पुग्दा समेत परियार मदिराको नसामा थिए ।

ट्याक्टर बेनीतर्फ ल्याउँदा प्रहरीले पहिचान गर्ने भएकाले महारानी थानमा राखेर पैदलमार्ग हुदै बेनी आएको देखिन्छ । अभियुक्त परियार आमाको कोठामा पुगेपछि नेपाल बैंक नजिकै रहेको एक घरमा मदिरा सेवन गर्न पुगेका थिए । त्यहाँबाट उनी परिवारको समेत सम्पर्कमा छैनन् । मदिरा सेवन गरेपछि पोखरासम्म पुगेको बताइएको छ । अहिले अभियुक्त परियारले प्रयोग गर्ने मोवाइल अफ छ ।

नियतबस दुर्घटना गराए के छ सजाय ?
नियतबस दुर्घटना गराएको प्रमाणित भए चालकलाई जन्मकैद सजाय हुन्छ । लापरवाही गरी सवारी चलाए ३ वर्षदेखि १० वर्षसम्म सजाय हुन्छ । सतर्कता अपनाउँदा अपनाउँदै दुर्घटना भएर कसैको ज्यान गए त्यस्तो सवारी चालकलाई एक वर्षसम्म कैद हुने प्रावधान छ । लाइसेन्स नभएका व्यक्तिले सवारी दुर्घटना गराए त्यस्तो सवारी धनीलाई पनि दुई वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १६१ को उपदफा १ मा भनिएको छ,‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ ।’

लापरबाही गरेर दुर्घटनामा मृत्यु भए दश वर्षसम्म कैद हुनसक्छ । दफा १६१ को उपदफा २ मा भनिएको छ ‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’ लाइसेन्स विना सवारी चलाएर दुर्घटना भएर कसैको मृत्यु भए लाइसेन्स नभएको व्यक्तीलाई सवारी चलाउन दिने सवारीधनीलाई पनि दुई वर्षसम्म सजाय हुने प्रावधान छ ।

यस्ताे छ कानुनी प्रावधान