म्याग्दीमा एकसय ७९ वटा कुकुरलाई बन्ध्याकरणसहित रेबिजविरुद्ध खोप लगाइयो

0
42

म्याग्दीमा रहेका सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्नुको साथै रेविज विरुद्धको खोप लगाइएको छ । बढ्दै गैरहेका कुकुरको सङ्ख्या न्यूनीकरण गर्नका लागि निःशुल्क रुपमा कुकुरको बन्ध्याकरणसहित रेबिज रोग विरुद्धको खोप लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी र बेनी नगरपालिका म्याग्दीको संयुक्त आयोजनामा एकदिने निःशुल्क शिविर सञ्चालन गरी कुकुरको बन्ध्याकरण गर्नुका साथै कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइएको छ। समुदायस्तरमा छाडा रुपमा बढ्दै गैरहेका कुकुरको सङ्ख्या न्यूनीकरण गर्ने उद्देश्यसहित निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

दुईवटै कार्यालयको चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम तथा बजेट अनुसार बन्ध्याकरण शिविर र रेबिज विरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरी रेबिज विरुद्धको खोप लगाइएको छ ।

रेबिज जस्तो प्राणघातक रोगबाट बच्नको लागि शिविरमा ल्याइएका सबै कुकुरहरुलाई रेबिज रोग विरुद्धको खोप लगाइएको सूचना अधिकारी रेग्मीले बताउनुभयो ।

गएको आइतबार दिनभर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय परिसरमा कुकुरको निःशुल्क रुपमा बन्ध्याकरण गर्नुका साथै रेबिज रोग विरुद्धको खोप लगाइएको थियो । उक्त शिविरमा ३९ वटा सामुदायिक तथा २५ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ ।

शिविरको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्दै समुदायस्तरमा जथाभावी रुपमा छाडा छोडिएका कुकुरको व्यवस्थापन गर्नको लागि भेटेरिनरी अस्पताल र बेनी नगरपालिकाबाट शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले छाडा छोडिएका कुकुरले रेबिज रोग सार्ने तथा दुर्घटना समेत गराउने भएकाले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने शिविरमा एनिमल केयर सेन्टर काठमाडौंका पशु चिकित्सक डाक्टर विकास श्रेष्ठ, सुमन थापा र बेनी नगरपालिकाका पशु सेवा शाखाका प्रमुख डा. आशिष सापकोटाले कुकुरहरुको बन्ध्याकरण गर्नुभएको थियो ।

कुकुरको अनावश्यक सङ्ख्या वृद्धिदर रोक्न तथा रेबिज रोग नियन्त्रण गर्न शिविरको आयोजना गरी कुकुरमा बन्ध्याकरण गर्नुका साथै रेविज रोग विरुद्धको खोप लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यसअघि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रवार र २ नम्बर वडा राखु भगवतीमा शनिवार कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन भएको थियो । मौवाफाँटमा ५५ र भगवतीमा ६० वटा कुकुरको बन्ध्याकरण भएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाको चालु आवको वार्षिक स्वीकृत कार्यक्रमबाट भेटेरिनरी अस्पताल म्याग्दीसँगको समन्वयमा शिविर चलाइएको थियो ।

कुकुरको सङ्ख्या वृद्धिका कारणले रेविज रोग लाग्ने र दुर्घटनाको समेत जोखिम बढेकाले शिविरको आयोजना गरी बन्ध्याकरण तथा रेविजविरुद्ध खोप लगाइएको छ । निःशुल्क शिविरबाट विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म रेबिज रोगलाई शुन्यमा झार्ने अभियानलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।