जोगीगाडे घटना : चालक अनिल परियार प्रहरी नियन्त्रणमा

0
64

म्याग्दीको बेनी नगरपालिका–६,जोगीगाडेमा नियतबस घटना घटाएर गराई एक महिलालाई गम्भीर घाईते बनाई फरार भएका चालकलाई प्रहरीले गएराती नियन्त्रणमा लिएको छ ।

गत बैशाख १ गते साँझ सदरमुकाम बेनी आउँदै गर्दा स्थानीय ६१ बर्षिया डोलकुमारी बानियाँलाई ट्याक्टरले किचेर भागेका पर्वतको जलजला गाउँपालिका–४,लामाखेतका १९ बर्षिय चालक अनिल परियारले जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले बेनीबजारबाट नियन्त्रणमा लिएको हो । चालक परियारलाई आफन्तको सूचनाको आधारमा प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

आरोपी परियारलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाउने सूचना अधिकारी पौडेलको भनाई छ । ‘‘चालकलाई नियन्त्रणमा लिइएको छ, थप अनुसन्धान हुन्छ’’ सूचना अधिकारी पौडेलले भन्नुभयो ।

चुत्रेनीबाट घरबाट खाना पकाउने खाली सिलिन्डर लिएर बेनीबजार जाने क्रममा बृद्धा डोलकुमारीलाई एकान्तमा भाडा माग्ने बाहनामा शरीरमा लगाएको गरगहना लुट्ने प्रयासमा गम्भीर घाईते बनाएको पीडितका आफन्तको भनाई छ । चालक अनुमतिपत्र (लाइसेन्स) समेत नरहेको प्रहरीले जनाएको छ ।घाईते डोलकुमारीको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच चालक अभियुक्त परियारले यसअगाडी बागलुङमा नियतबस ट्याक्टर दुर्घटना गराएको र लागुऔषधको सेवनमा समेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेर निस्किएको पाइएको छ ।

स्थानीय महिला डोलकुमारीलाई ठक्कर दिदाँ समेत चालक परियारले मदिरा सेवन गरेको आशंका प्रहरीले गरेको छ । अपराधिक मानसिकताका परियारलाई प्रहरीले बि.स २०८० साल भदौ १६ गते लागुऔषधको सेवनको क्रममा नियन्त्रणमा लिएको थियो ।

नियतबस दुर्घटना गराए के छ सजाय ?
नियतबस दुर्घटना गराएको प्रमाणित भए चालकलाई जन्मकैद सजाय हुन्छ । लापरवाही गरी सवारी चलाए ३ वर्षदेखि १० वर्षसम्म सजाय हुन्छ । सतर्कता अपनाउँदा अपनाउँदै दुर्घटना भएर कसैको ज्यान गए त्यस्तो सवारी चालकलाई एक वर्षसम्म कैद हुने प्रावधान छ । लाइसेन्स नभएका व्यक्तिले सवारी दुर्घटना गराए त्यस्तो सवारी धनीलाई पनि दुई वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १६१ को उपदफा १ मा भनिएको छ,‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ।’

लापरबाही गरेर दुर्घटनामा मृत्यु भए दश वर्षसम्म कैद हुनसक्छ । दफा १६१ को उपदफा २ मा भनिएको छ ‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’ लाइसेन्स विना सवारी चलाएर दुर्घटना भएर कसैको मृत्यु भए लाइसेन्स नभएको व्यक्तीलाई सवारी चलाउन दिने सवारीधनीलाई पनि दुई वर्षसम्म सजाय हुने प्रावधान छ ।