महिलाहरुको क्षमता अभिवृद्धि गरी उनिहरुलाई व्यवसायीक बनाउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन म्याग्दीमा सेलरोटी बनाउने तालिम संचालन गरिएको छ ।
नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घ म्याग्दीको आयोजनामा बेनीमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो। पाँच दिन सम्म सञ्चालन हुने तालिमको नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य अमृतदेवी बानियाँले उद्घाटन गर्नुभयो ।
उहाँले महिलाहरुलाई उद्यमी व्यवसायीक बनाउन तालिमले सघाउ पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । महिलाहरु आर्थिक अभावकै कारण विभिन्न क्षेत्रमा पछाडी पर्ने गरेका बानियाँको भनाइ थियो ।
तालिममा तीस जना बढी महिलाहरु सभागी भएका महिला सङ्घ म्याग्दीकी सचिव पुष्पा पौडेल घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार, ७ गते सम्म संचालन हुने तालिममा चामलको पीठोबाट सेलरोटी बनाउने बारे सिकाइनेछ ।
सेलरोटी व्यवसायबाट राम्रो आर्थिक आम्दानी गर्न सकिने भएकोले म्याग्दीका महिलाहरुलाई उनिहरुको क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको महिला सङ्घ म्याग्दीकी अध्यक्ष निर्मला श्रेष्ठले बताउनुभयो । कम लगानी पनि कम लाग्ने र बिक्रीका लागि पनि सहज हुने भएकोले सेलरोटी बनाउने तालिम संचालन गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
तालिममा बेनी नगरकार्यपालिका सदस्य मनकुमारी विश्वकर्मा, खिमा पुर्जा लगायतले घरायसी कामधन्दामा व्यस्त महिलाहरुलाई व्यवसायीक बनाउन आगामी दिनमा अन्य तालिमहरु समेत सञ्चालन गरिने बताउनुभयो । महिला सङ्घ म्याग्दीकी अध्यक्ष श्रेष्ठले तालिममा प्रशिक्षार्थीहरुलाई सेलरोटी बनाउने सीप सिकाउनुभएको छ । महिला संघ म्याग्दीकी सचिव पुष्पाले संचालन गर्नुभएको कार्यक्रममा बेनी नगर सचिव सुनिता केसी स्वागत मन्तव्य राख्नुभएको थियो ।