म्याग्दीको सदरमुकाम बेनीका एक यूवा सात दिनदेखि बेपत्ता रहेका छन् । बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठ सात दिनदेखि सम्पर्कविहीन भएका हुन् ।
गत चैत्र ३१ गते बेनीबाट पोखराका लागि हिडेका सतिश बैशाख १ गते पोखरा महानगरपालिका–६, कास्कीको होटल स्नो पिक अगाडी देखिएको दाई शैलेश श्रेष्ठले बताए । ‘‘घरबाट निस्किएपछि सम्र्पकविहिन छन्, हामीले खोजीकार्य तिब्र बनाएका छौ’’ दाई श्रेष्ठले भने ।
आफन्तजन, साथीभाइ सबैसँग सोधीखोजी गर्दा समेत कही कतै नभेटेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सहयोगको अनुरोध गरेको श्रेष्ठको भनाई छ ।
घरबाट ट्याक्सीमा पोखरासम्म पुगेको र बैशाख १ गते होटल आसपासमा देखेको प्रत्यक्षदर्शीले बताएको पारिवारिक स्रोतले जनाएको छ । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविका शिक्षक समेत रहेका सतिश सम्पर्कविहीन भएपछि प्रहरीमा जानकारी गराइएको थियो ।
बेपत्ता भएको सात दिनसम्म पनि कुनै जानकारी नआएपछि शनिबारदेखि परिवारजनले खोजीकार्य गरिदिन आम समुदायलाई अपिल गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमार्फत हुलिया सहित विभिन्न क्षेत्रमा खोजीकार्य भइरहेको जनाइएको छ ।