म्याग्दीको बेनी नगरपालिका–१,बेलबोटमा हाइटेन्सन लाइनबाट प्रवाह भइरहेको करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । शुक्रबार अपराह्न बेलबोट स्थित शिव मन्दिरको कम्पाउण्ड भित्र रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा १६ बर्षिया शिव थापाको नेपाल विद्यु्त प्राधिकरणको ३३ केभी प्रशारण लाइनबाट करेन्ट प्रवाह भई ज्यान गएको हो ।
घरबाट करिब ५ सय मिटर टाढा घाँस काट्ने क्रममा तेत्तिस हजार भोल्टको करेन्ट प्रवाह हुने नाङ्गो तारमा छुदाँ अचेत भएका थापाको उपचारको क्रममा धौलागिरी प्रादेशिक अस्पताल बागलुङ ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको आफन्त रमेश थापाले बताउनुभयो ।
‘हरियो रुखमै विद्युतको तार छ, हटाउन पटकपटक अनुरोध गर्दा समेत विद्युत प्राधिकरणले चासो देखाएन’ मृतकका आफन्त थापाले भन्नुभयो । बस्ती आसपासका क्षेत्रका रहेका रुखमा विद्युत प्रशारण लाइनबाट करेन्ट प्रवाह हुदाँ विगतमा पनि पशुचौपाया मरेका थिए ।
घरसँगै जोडिएको नाङ्गो विद्युत लाइनका कारण बेनपा वडा नं १ सारेमारे,बेलबोट र बागलुङ नगरपालिका–४, ढोडेनी बस्तीका सर्वसाधारण त्रसित छन् । घाँसदाउराको प्रयोजनका लागि हुर्काइएको रुखमा विद्युतको तारले छोएको छ भने खेतबारीमा जोत्दा समेत करेन्ट प्रवाह हुने गरेको छ। स्थानीयबासीले विद्युत प्राधिकरणबाट तत्काल थप क्षती हुन नदिने गरी तार आसपासका रुख कटान गर्न माग गरेका छन् ।