म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको स्थापना दिवसको अवसरमा शनिबार बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र आयोजक मिडिया सोसाईटी बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता संचालन भएको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले उद्घाटन गर्नुभएको प्रतियोगितामा आयोजक मिडिया सोसाईटी तीनका विरुद्ध ६ गोल गर्दै विजेता बन्न सफल भयो । विजेता आयोजकलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी मिडिया सोसाईटी अध्यक्ष अमित विश्वकर्मा र जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले ट्रफी ,मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा चार गोल गर्न सफल आयोजक मिडिया सोसाईटीका सचिव राकेश शर्मा सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत हुनुभयो भने आयोजक टिमकै अर्का खेलाडी किरन कार्की उत्कृष्ट खेलाडी घोषित भई पुरस्कृत भए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले फुटसल प्रतियोगिताले शारीरिक र मानसिक स्वास्थ्यलाई मजबुद बनाउन सहयोग पुग्ने बताए ।
उनले जिल्लाको सदरमुकाम बेनी खुल्लामञ्च सहित खेलकुद पुर्वाधारलाई प्राथमिकता दिने बताए । फुटसल लगायत खेलकुद प्रतियोगिताले सामाजिक सद्भाव कायम गर्न र खेलकुद क्षेत्रको प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको प्रमुख आतिथि श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष गौतम र जिल्ला फुटबल संघका अध्यक्ष बानियाँले वार्षिकोत्सवको अवसरमा मिडिया सोसाईटीलाई शुभकामना ब्यक्त गरेका थिए । मिडिया सोसाईटी अध्यक्ष विश्वकर्माले संस्थाले स्थापनाकालदेखि नै जिल्ला स्थित संचालित सञ्चारमाध्यमको सवलीकरण र प्रवद्र्धनका लागि काम गर्दै आइरहेको बताए ।
पत्रकार तथा सञ्चारकर्मीबीच एकआपसमा सद्भाव बढाउन र फुटसल खेलको प्रवद्र्धनमा टेवा पुयाउने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको उनको भनाई थियो । मिडिया सोसाईटी सचिव राकेश शर्माले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष साधन राम्जालीले स्वागत मन्तव्य राख्नुभएको थियो । मिडिया सोसाईटी विक्रम संवत् २०७४ सालमा स्थापना भएको हो ।