म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, खिवाङका ६२ वर्षीया देउबहादुर गर्बुजा चौंरीको आलो रगत पिउन मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सी खोलामा आउनुहुन्छ ।
विगत सात वर्षदेखि विभिन्न अस्पतालमा ग्यास्ट्रिकको उपचार गराए पनि निको नभएपछि सब परिवार र आफन्तसँग पुग्ने गर्नुभएका गर्बुजाले प्रति गिलास तीन सय रुपियाँ तिर्नुभयो । गर्बुजासँगै गाउँबाट करिब ३० जना जिप रिर्जभ गरेर चौरीको मेलामा आउनुभएको छ । पोखरा महानगरपालिका वडा नं.२५ बस्ने निरमायाँ पुनले लगातार तीन वर्ष चौरीको रगत पिउन थालेपछि आफ्नो स्वास्थ्यमा सुधार आएको बताउनुभयो ।
एक सातासम्म मुस्ताङमा बसेर चौरीको आलो रगत खाएर फर्कने निरमायाँले गानोगोलाको समस्या धेरै सुधार भएको बताउनुभयो । निरमायाँ भन्नुहुन्छ, ‘‘जनविश्वाससँगै मेरो समस्यामा सुधार आएको छ, हरेक वर्ष यहाँ आउँछु ।’’ हिमालय याक नाक संरक्षण समितिले याक दिवसको अवसरमा आयोजना गरेको मेलामा विभिन्न रोगबाट ग्रसित बिरामीको भिड लागेको छ ।
मुस्ताङ, म्याग्दीका साथै कास्की, काठमाडौँ र बुटवल लगायतका क्षेत्रबाट आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएका सर्वसाधारण आएको हिमालय याक नाक पालन उपसमिति संयोजक बुद्धिरत्न तुलाचनले बताउनुभयो ।
संयोजक तुलाचनले भन्नुभयो, ‘‘पहिलो दिनै भिड लागेको छ, यहाँ आउने सबै खुसी भएर फर्किनुहुन्छ ।’’ मेलामा विभिन्न समूहबाट ल्याइएको याक–नाकबाट हुने आम्दानीसँगै पालनपोषण र संरक्षण गर्ने गरिएको संयोजक तुलाचनको भनाइ छ । हिमाली भेगमा पाइने, गोरु जस्तो देखिने भाले जनावर याक हो भने गाई जस्तो देखिने शुद्ध नश्लको पोथी नाक चौरी भनिन्छ । मेलामा चौरी विभिन्न समूहबाट तीन सयको हाराहारीमा याक र चौरी ल्याइएको छ । एक जना बिरामीले एकदेखि सात गिलाससम्म चौरीको आलो रगत पिउने गरेका छन् ।
समुन्द्री सतहदेखि ३७ सय मिटर उचाइको हिमाली खर्कमा चरेका चौँरीहरूले पाँचऔंले, निरमसी, जटामसी, यार्सागुम्बाजस्ता जडीबुटी खाने भएकाले रगत सेवनले गानोगोला, तुस, अपच, हाडजोर्नी, नसासम्बन्धी रोग, यौनउत्तेजना आदि समस्या कम हुने जनविश्वास रहेको छ ।
एउटा वयस्क चौंरीबाट २० गिलाससम्म रगत निकाल्न सकिन्छ । चौँरीको आलो रगतमा भएको परजीवीले मानव स्वास्थ्यमा पार्नसक्ने असरलाई ध्यानमा राखेर स्थानीय थासाङ गाउँपालिका पशु शाखाले जुकाविरुद्ध निःशुल्क औषधी वितरण तथा परीक्षण समेत गर्ने गरेको छ ।
चौंरीको घाँटीमा फलामको सानो र तिखो हतियार (चुलेसी) ले प्वाल पारेर रगत निकाल्ने गरिन्छ । चौँरीको दुधबाट चिज, दही, घीउ र छुर्पीलगायतका परिकार बनाएर बिक्री गरिन्छ । थासाङ गाउँपालिकाको चरन क्षेत्रमा १० जना किसानको सात सयको हाराहारीमा चौरी र याक पालेका छन् । नेपाल सरकारले पहिलोपटक घोषणा गरेको याक दिवसलाई समेत हिमालय याक नाक संरक्षण समितिले स्वागत गरेको छ ।
वैशाख ६ देखि १५ गतेसम्म सञ्चालन हुने मेलामा चौरी र याकका बारेमा जानकारी गराउने, पर्यटनको प्रवर्धनका साथै हिमाल क्षेत्रमा बसोवास गर्ने गोठालाहरूसँग समेत अनुभव लिने, तारा खेलको याकचौरीको प्रदर्शनी गर्ने, जैविक विविधता संरक्षणसम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने, सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । हरेक वर्ष मुस्ताङमा वैशाख र साउन महिनामा याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भिड लाग्ने गर्दछ । मुस्ताङका ५ स्थानीय तहमा चार हजारभन्दा बढी याकचौरी पालन गरिएको छ ।
स्थानीय तहले समेत याकचौरी पालन व्यवसायीहरूलाई गोठ सुधारसहित विभिन्न अनुदानका कार्यक्रमहरू समेत सञ्चालन गरेको छ भने हकहित र उत्थानका लागि हिमालयन याकचौरी पालन तथा संरक्षण व्यवस्थापन समितिसँग सहकार्य गरेको छ ।
यता मेडिकल चिकित्सकका अनुसार पशुचौपायाको आलो रगतलाई औषधीको माध्यम बनाउने परम्परा भए पनि रोग निको हुने वैज्ञानिक आधार नभएको बताउँछन् । आलो रगतमा विभिन्न विषाक्त पदार्थका अवशेषहरू हुने आलो रगत र मासु विज्ञानमा ताजा रगत खान योग्य वस्तु वा भागको रूपमा परिभाषित नगरिएकाले हिमाली क्षेत्रको चरन क्षेत्रमा रहेका पशुचौपायाको शरिरभित्र हेमोग्लोविनको मात्रा धेरै हुने भएकाले आवश्यकता परेमा निकालेर फाल्न सकिने बताउँछन् ।