म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङमा सम्पन्न दोस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दुखुबेशी टिमलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै आयोजक जेपीसीले एक लाख पचास हजार रुपैयाँ पुरस्कार राशिको उपाधि हात पार्न सफल भएको हो ।
प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख ५० हजार रुपैयाँ र ८० हजार रुपैयाँ प्रदान गरिएको क्लवका अध्यक्ष कुशल घर्तीले जानकारी दिनुभयो ।
मालिका गाउँपालिका-६ का वडा अध्यक्ष पथबहादुर रोका, कार्यपालिका सदस्य दलबहादुर खड्काथोकी, क्लवका संस्थापक अध्यक्ष दोरण शेरचनलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । नव वर्ष २०८२ को अवसरमा वैशाख २ देखि शनिबारसम्म दरवाङमा सञ्चालन भएको प्रतियोगितामा २५ टिमको सहभागिता थियो ।
अनुशासित बिकु फ्यामिली, सेमीफाइनलबाट बाहिरिएका निस्कोट बेशी र एभरग्रिन युवा क्लवले १०÷१० हजार रुपैयाँ पुरस्कार पाएका छन् । उत्कृष्ट खेलाडी घोषित दुखुका दिपेश जुग्जालीले छ हजार रुपैयाँ पुरस्कार पाउनुभयो । जेपीसीका अन्जन खत्री उत्कृष्ट गोलरक्षक, डिफेन्डर जेपिसीका क्षितिज जिटी र सर्वाधिक गोलकर्ता निस्कोट बेशीका भुवन घर्तीलाई पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।