विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरूले माइतिघर–बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका छन्। जसका कारण अनामनगर,थापागाउँ, बानेश्वरलगायत क्षेत्रमा सडक अस्तव्यस्त बनेको छ।
सडक अवरुद्ध हुँदा दैनिक कार्यालय जाने कर्मचारीसहित स्कुल,कलेजका विद्यार्थीहरूले सास्ती खेप्नु परेको छ। उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका छन् । महासंघले गरेको लगातारको आन्दोलनका कारण बानेश्वर–माइतिघर सडकखण्ड प्रभावित हुँदै आएको छ भने शैक्षिक गतिविधि पनि ठप्प भएको छ ।
चैत २० गतेदेखि देशभरबाट विद्यालयमा ताला नै लगाएर शिक्षक कर्मचारी काठमाडौं आएका छन्। २० दिनदेखि शिक्षक सडकमा छन्। उनीहरू चैत २५ देखि शैक्षिक हड्तालमा छन्। शान्तिपूर्ण रूपमा उनीहरूले आन्दोलन गरिरहे पनि आन्दोलनका दिनदेखि नै काठमाडौंको यातायात प्रभावित छ।
आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने,प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने,उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ।
शिक्षक आन्दोलनका कारण कक्षा १२ परीक्षा अन्योलमा परेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरिसकेको छ । तर, आन्दोलनरत शिक्षकले कक्षा १२ को परीक्षा सहभागी नहुने बताउँदै आएका छन्।शिक्षक महासंघले नै कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक,शिक्षक तथा कर्मचारीलाई आह्वान गरेको छ। जसले गर्दा कक्षा १२ को परीक्षा प्रभावित हुने देखिएको छ।
वैशाख २ गतेबाट नयाँ भर्ना सुरुवात हुनु प्रणाली रहँदै आएको छ। तर,शिक्षक आन्दोलनका कारण नयाँ भर्ना प्रभावित भएको छ। यसैगरी एसईईको नतिजा प्रकाशनमा पनि ढिलाइको सम्भावना देखिएको छ। एसईईको उत्तरपुस्तिका जाँच गर्ने शिक्षक जति आन्दोलनमा छन्। जसले गर्दा एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने सम्भावना बढेर गएको छ।