मेडिकलको बेतिथी : फुड सप्लिमेन्टबाट ठगिदैं बिरामी

0
20

म्याग्दीको सदरमुकाम बेनीबजारमा शिशुले प्रयोग गर्ने गरी गाइप वाटर बिक्री गरेको पाइयो । जन्मदिएपछि ६ महिनासम्म शिुशुलाई प्राकृतिक दूध बाहेक प्रयोग नगर्न चिकित्सकले सुझाव दिने गर्दछन् ।

सदरमुकाम बेनीबजारमा रहेका मेडिकलले शिशुदेखि बृद्धबृद्धालाई शरीरमा भिटामिन, मिनरल र अन्य आवश्यक तत्व खानाबाट पूर्ति नभएको भन्दै फुड सप्लिमेन्ट भिराउने गरेको पाइएको छ ।

बेनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख चन्दन सुबेदीले शिशुलाई गाइप वाटरलाई औषधिको रुपमा बिक्री गरेको पाइएको बताउँदै तत्काल रोक्न निर्देशन दिनुभयो । पूर्ण स्तनपानको अभियानमा राज्यबाट उच्च प्राथमिकता दिएको अवस्थामा विभिन्न बाहनामा फुड सप्लिमेन्ट दिनु गलत भएको प्रमुख सुबेदीको भनाई छ । ‘‘बिरामीलाई औषधीसँगै फुड सप्लिमेन्ट बेच्न पाइदैन’’ प्रमुख सुबेदीले भन्नुभयो ।

फुड सप्लिमेन्ट अनेक थरीका हुन्छन् । नेपाली र भारतीय कम्पनीबाट बजारमा आउने भएकाले औषधिपछि यो खानुहोस्, निको हुन्छ भन्दै बिरामीलाई भिराउने गरेको पाइन्छ । फुड सप्लिमेन्टबाट बिरामी निको भएको कुनै आधार भने मेडिकल पसलले दिन सकेका छैनन् ।

पर्यटन तथा उद्योग कार्यालयको अगुवाईमा सुरू भएको अनुगमनमा बेनीबजारका फार्मेसी, औषधि पसलले भारतीय कम्पनीबाट उत्पादित फुड सप्लिमेन्टलाई औषधिको रूपमा खाइरहेको अनुगमनको क्रममा भेटिएको छ । फुड सप्लिमेन्ट औषधिजस्तै झोल, पाउडर, क्याप्सुललगायतका आकारमा बिक्री गरेको भेटिएको अनुगमन टोलीका संयोजक अमृतप्रसाद कँडेलले बताउनुभयो।

अनुगमनको क्रममा चिकित्सकले समेत भारतीय महंगो औषधि सिफारिस गर्ने, चिकित्सकको प्रेस्क्रिप्सन बिनै फुड सप्लिमेन्टलाई औषधिको नाममा बेच्न गरेको भन्दै ब्यवसायीलाई सचेत गराइएको छ । एउटा विरामीलाई चिकित्सकले सिफारिस गरेको बाहेक फुड सप्लिमेन्टको नाममा ३ सयदेखि १ हजारसम्म थप खर्च गराउने गरेको पाइएको छ ।

चिकित्सकले समेत फेसनको रूपमा फुड सप्लिमेन्टको प्रयोग भइरहेको भन्दै सप्लिमेन्ट खाँदा शरीरलाई आवश्यक भिटामिन, मिनरलजस्ता तत्व पूर्ति हुने भ्रम मात्रै भएको बताउने गरेका छन् । बेनीका मेडिकलले आर्युबेदिक समेत एउटै स्थानमा राखेर बिक्री गर्ने गरेको पाइएको छ । बेनीबजार र ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमनसँगै देखिएका समस्याहरुका बारेमा सम्बन्धित निकायमार्फत सचेत गराउने बताइएको छ ।