म्याग्दीका सामुदायिक विद्यालय बैशाख १४ देखि खुल्ने

0
21

शिक्षकहरूको आन्दोलनले पठनपाठन रोकिएको म्याग्दीका सामुदायिक विद्यालयले बैशाख १४ गतेदेखि पठनपाठन संचालन गर्ने भएका छन् । शिक्षक आन्दोलनअन्तर्गतको शैक्षिक आम हड्तालमा सहभागितासँगै विद्यालय भर्ना अभियान र पठनपाठन सुरू गर्ने निर्णय भएको नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदीले बताउनुभयो ।

‘‘आन्दोलनमा हाम्रो सक्रिय सहभागिता हुन्छ, हाम्रो माग पूरा नभएसम्म काठमाण्डौमा हुन्छौ, विद्यालयको नियमित गतिविधि पनि सञ्चालन गछौं ।’’ अध्यक्ष सुबेदीले बेनीअनलाइनलाई भन्नुभयो । आन्दोलनमा म्याग्दीबाट सक्रिय रुपमा ७५ जना शिक्षक हुनुहुन्छ भने हालसम्म ६ सय बढी शिक्षक सहभागि हुनुभएको छ ।

बैशाख १४ गतेदेखि भर्ना अभियान, पुस्तक वितरण तथा नियमित क्यालेन्डरसँगै आलोपालो आन्दोलनमा समेत सहभागिता जनाउने निर्णयमा शिक्षक संगठनहरुले समेत सहमति जनाएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनलाई सरकारले सम्बोधन गर्नेभन्दा पनि झनै जटिल बनाइरहेको अवस्थामा आन्दोलन लम्बिएका शिक्षक अगुवाहरुको गुनासो छ ।

तत्काल विद्यालय शिक्षा ऐन जारी हुने विश्वसनीय आधारसहितको कार्यतालिका ल्याउन नसक्ने अवस्थामा विद्यालय ब्यवस्थापन समितिले समेत शिक्षकको आन्दोलनमा सर्मथन जनाएकाले शिक्षकको सहमति विना परीक्षा सञ्चालन सहित अन्य शैक्षिक गतिविधि सम्भव देखिदैन ।

यता सामुदायिक विद्यालय बन्द हुदाँ संस्थागत विद्यालयमा भर्ना भएर पढाइ सुरू भएको छ । सामुदायिक विद्यालयमा भर्ना र पढाइ प्रभावित भएपछि बच्चालाई मानसिक असरको जोखिमलाई मध्यनजर गरी आन्दोलन र पठनपाठनको निर्णय स्वागतयोग्य रहेको अभिभावहरुको भनाई छ । सामुदायिक विद्यालयले समेत आफ्ना विद्यार्थीलाई आन्दोलनका बिचमा पनि सम्पर्क गरी विद्यालयमा बोलाउने, आवश्यक टिप्स दिने गरेपनि शिक्षक नहुँदा प्रभावित हुने भएपछि पठनपाठन स्थगित थियो ।