अहिले म बिरामी छैन, अबको २०–२५ वर्षपछि बुढो हुन्छु : प्रधानमन्त्री ओली

0
29

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थय ठीक रहेको भन्दै चिन्ता नगर्न सुझाव दिएका छन् । हिजो (मंगलबार) एमालेद्धारा आयोजित नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले आफूू अहिले बुुढो नभएको र अस्वस्थ पनि नरहेको स्पष्ट गर्दै आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुु नपर्ने बताएका थिए ।

‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन’, प्रधानमन्त्री ओलीले भने– कसैले एमालेविनाको देशको पनि कल्पना गरेका छन् । केपी ओलीविनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ । एमालेविनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।’

उनले राजतन्त्रको भुलभुलैयामा नपर्नपनि अपिल गरे । उनले भने,‘हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधान नमान्नेहरूलाई एक्काइसौँ शताब्दीमा श्रीपेच लगाउने र जनतालाई हुकुमी शासन दिने राजा चाहिएको छ । जनताले ल्याएको लोकतन्त्र नमान्ने, संविधान नमान्ने, संवैधानिक राजतन्त्र खोज्ने ? राजतन्त्रको भुलभुलैमा नभुलौँ । नयाँ शक्ति भन्नेहरूको तमासा पनि देखिइसकिएको छ । त्यसकारण हामी दृढताका साथ न्याय र समानतासहितको राष्ट्र निर्माणमा अग्रसर होऔँ ।’