पोखरेबगरमा ‘एक पालिका, एक स्माट हुलाक’ स्थापना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,पोखरेबगरमा हुलाक कार्यालय स्थापना भएको छ । नेपाल सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत “एक पालिका, एक स्माट हुलाक’’ कार्यालय स्थापना गर्ने नीति लिएसँगै म्याग्दीमा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एक समारोहका बिच गाउँपालिका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गदैं जनचाहना अनुसार हुलाकको सेवा पनि प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।

सुचना प्रविधिको अत्याधुनिक विकास सँगै हुलाक सेवाको प्रभाविकारिता खुम्चिँदै गएको अवस्थामा सरकारी तथा ब्यक्तिगत चिठीपत्र मात्रै नभई दैनिक प्रयोग हुने आधारभूत कागजात सहित जनताको आवश्यकता अनुसारकासेवाहरू हुलाक मार्फत जनताको घरदैलोमा पु¥याउने व्यवस्था मिलाउन सक्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुन तिलिजा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले पालिकाको केन्द्रमा हुलाक कार्यालय स्थापना भएपछि सुलभ र प्रभावकारी हुलाक सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला हुलाक कार्यालयकी सूचना अधिकारी सम्झना भण्डारी बानियाँको अध्यक्षता, स्वागत हल्कारा मोहन बानियाँ र सञ्चालन हल्कारा विनोद पुनले गर्नुभएको थियो । यसैबीच रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा समेत हुलाक कार्यालयले सेवा सुरू गरेको छ ।

पालिकाको केन्द्र बाहिर रहेका इलाका हुलाक कार्यालयलाई स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायसँगको समन्वयमा पालिकाको केन्द्रमा स्थापना गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताउनुभयो ।

म्याग्दीका ६ स्थानीय तहमा एक जिल्ला हुलाक र २८ अतिरिक्त हुलाक कार्यालय रहेको छ । प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम इलाका हुलाक हटाइएको छ । हाल जिल्ला हुलाक सहित पालिकामा प्रमुख सहित ४० दरबन्दी र अतिरिक्त हुलाकमा ५३ जना कर्मचारी रहेका छन् ।

Previous articleविश्वका कुल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा : बासस्थानको अतिक्रमण मुख्य चुनौती
Next articleसानिमा रिलायन्स लाइफको बिमा सचेतना कार्यक्रम
हरिकृष्ण गौतम
हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।