महिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पहिलोपटक म्याग्दीका दुई खेलाडी छनौट भएका छन् ।
यही वैशाख १३ गतेदेखि बागमती प्रदेशमा हुने प्रतियोगिताका लागि गण्डकी प्रदेश फुटबल संघको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय छनोटमामंगला गाउँपालिका-२, सहस्रधाराकी निकिता सिङ ठकुरी र मालिका गाउँपालिका-५, देविस्थान दांगाकी दिपा बुढा टिममा छनौट भएको जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले बताउनुभयो ।
‘‘पहिलोपटक म्याग्दीले महिला टिममा खेल्ने अवसर पाएको छ, दुबै खेलाडीको खेल उत्कृष्ट छ ।’’ अध्यक्ष बानियाँले भन्नुभयो ।
गण्डकी प्रदेश फुटबल संघको प्रतियोगिताका लागि छनोट खेलमा ११ जिल्लाबाट १३५ जना खेलाडीको उपस्थिति रहेकोमा म्याग्दीबाट ९ जनमध्ये ८ जना पहिलो चरणमा पर्न सफल भएकालाई समेत आगामी दिनमा हुने प्रतियोगितामा अभ्यास खेलका लागि समेत बोलाइएको छ।
बैशाख १३ गतेदेखि २० गतेसम्म हुने बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।उक्त प्रतियोगितामा विभागीय कल्बसहित प्रदेशका टिमहरुको समेत सहभागिता रहनेछ ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले महिला फुटबलका लागि गण्डकी प्रदेशबाट छनौट भएका खेलाडीलाई कुनैपनि कमी हुन नदिने बताउँदै जिल्लाबाट हरेक खेलमा प्रदेश र राष्ट्रिय प्रतियोगितामा सहभागिताको वातावरण बनाउने बताउनुभयो । म्याग्दीमा समेत महिला फुटबल हुन थालेपछि विद्यालयस्तरबाटै प्रतिभाहरु पहिचान गरिएकाले प्रदेशस्तरीय छनौटमा पठाउन सहज भएको जिल्ला फुटबल संघले जनाएको छ ।