म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,घारको महभीर क्षेत्रमा अज्ञात समुहले रूख काट्दा ३३ केभि दाना-मिलनचोक सबस्टेशनको पोलमा क्षती पुगेको छ । शुक्रबार अज्ञात समुहले रूख कटान गर्दा प्रशारण लाइनका पाँचवटा पोललाई क्षति भएको हो ।
पोल क्षतिग्रस्त भए पश्चात म्याग्दीमा नियमित विद्युत आपूर्तीका लागि बागलुङबाट आएको ३३ केभि लाइन मात्रै प्रयोग भएकाले साँझपख ओभर लोड (भरिएर) का कारण विद्युत् ‘ट्रिप’ हुने समस्या देखिएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो।
‘‘पोलमा क्षती पुगेको स्थानमा नयाँ पोल पुगिसकेको छ, पिकआवरमा विद्युत् ‘ट्रिप’को समस्या समाधानका लागि प्रयासरत छौ ।’’ कार्यालय प्रमुख गामीले भन्नुभयो । म्याग्दी जिल्लाका लागि आवश्यक विद्युत दाना र बागलुङबाट मिलनचोक सवस्टेशनमा आपूर्ती हुने गरेकोमा दानामा खराबी आएको खण्डमा बागलुङको र बागलुङमा समस्या आएमा दानाब प्रयोग गर्ने गरिन्छ ।
‘‘ विद्युतको अत्याधिक प्रयोग हुने समयमा विद्युत् ट्रिपको समस्या हुन्छ, पोल ढलेको क्षेत्रको मर्मत सकिएपछि समाधान हुन्छ ।’’ प्रमुख गामीले भन्नुभयो । यो समयमा हावाहुरीका कारण समस्या उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गदैं बागलुङबाट आपूर्ती भइरहेको अवस्थामा विद्युत् ट्रिपको समस्या हल गर्नका लागि आवश्यक जनशक्तीलाई परिचालन समेत गरिएको छ ।
यसैबीच पोल क्षती भएको स्थानमा सोमबारसम्म मर्मत गरेपश्चात नियमित आपूर्ती हुने म्याग्दी वितरण केन्द्रले जनाएको छ । पोल आसपासका क्षेत्रमा रुख कटानमा संलग्नको पहिचान भने अहिलेसम्म भएको छैन ।
म्याग्दी वितरण केन्द्रका २३ हजार ३६ ग्राहक छन् । पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनी, मल्लाज तथा आसपासका क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गत मिलनचोक सवस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ ।