‘लोकतन्त्रको विकल्प लोकतन्त्र’ भन्ने मूल नारासहित बुधवार म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्ज्वलन गरी लोकतन्त्र दिवस मनाइएको छ । मानव अधिकार तथा शान्ति समाज म्याग्दी र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको संयुक्त आयोजनामा १९औं लोकतन्त्र दिवस–२०८२ मनाइएको हो।
दिप प्रज्ज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाज म्याग्दीका सभापति हरिप्रसाद पौडेलले १९ दिने लामो जनआन्दोलनमार्फत लोकतन्त्र प्राप्त गर्नका लागि सामाजिक संघसंस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले लोकतन्त्रको सुन्दर पक्ष वाक स्वतन्त्रता र नागरिक सर्वोच्चता रहेको बताउँदै लामो समयको प्रतिक्षापछि प्राप्त लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ म्याग्दी शाखाका अध्यक्ष दिपक पौडेल, मानव अधिकार तथा शान्ति समाजका जिल्ला उपसभापति मुकुन्दप्रसाद आचार्य र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालु लगायतले दिप प्रज्ज्वलन गर्नुभएको थियो । २०६२÷०६३ को १९ दिने दोस्रो जनआन्दोलनबाट नेपालमा लोकतन्त्र स्थापना भएको थियो । हरेक वर्ष वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवसको रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउँदै आइएको छ ।