गण्डकी प्रदेश सरकारको बजेटबाट म्याग्दीमा सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन समितिले सक्रियता देखाएको छ ।
प्रदेश सरकारको निर्णय अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद अध्यक्ष, समानुपातिक सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधी, स्थानीय तहका उपप्रमुख सदस्य र प्रदेश सरकार मातहतका सम्बद्ध कार्यालय प्रमुख सदस्य सचिव रहने गरी अनुगमन समिति गठन भएको छ ।
म्याग्दी १(१) मा हरिबहादुर भण्डारी र १(२) बाट निर्वाचित प्रदेश सांसद रेशम बहादुर जुग्जालीको अध्यक्षतामा रहेको समितिले म्याग्दीमा सञ्चालित योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको अवस्था, समस्या र आगामी बर्षको योजनामा समेट्नुपर्ने विषयमा बिहिबार छलफल गरेका छन् ।
जिल्ला समन्वय समितिको संयोजनमा दुई वटै निर्वाचन क्षेत्रको संयुक्त रुपमा बसेको बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्य, धवलागिरीका उपाध्यक्ष रेशम पुनमगर, मंगलाका उपाध्यक्ष प्रेमकुमारी अधिकारी र रघुगंगाका उपाध्यक्ष प्रेमकुमारी पुनको उपस्थिति थियो ।
बैठकमा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको समिक्षा र कार्यतालिका बनाएर योजनाको अनुगमन गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । योजना छनौट र कार्यान्वयनमा जनप्रतिनिधी र कर्मचारी तथा अन्तर कार्यालयहरुबीच समन्वयको आवश्यकता औल्याइएको थियो ।
बैठकमा खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझा, प्रादेशिक जनस्वास्थ्य कार्यालयका गणेश सुवेदी, पूर्वाधार विकास कार्यालयका ईञ्जिनियर जिता गिरी, डिभिजन वन कार्यालयका प्रमुख बिष्णुप्रसाद अधिकारी, सामाजिक विकास कार्यालयका प्रमुख तारानाथ सुवेदी, उद्योग तथा पर्यटन कार्यालयका प्रमुख अमृत कडेल, कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोला, प्रादेश आर्युवेद चिकित्सालयका कविराज निरिक्षक दामोदर शर्मा र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गोपाल गिरीले योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।
बजेट अभाव र कतौटिका कारण योजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको कार्यालय प्रमुखहरुको भनाई थियो । गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले कार्यालय प्रमुख र जनप्रतिनिधीबीच एकले अर्कालाई समन्वय नगर्दा योजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको महशुस गरिएको बताउदै त्यसलाई सुधार गर्न अनुगमन समिति मार्फत पहल गरिने बताउनुभयो ।
“जनप्रतिनिधी र कर्मचारीहरुबीच जोगी देखि भैसी डरायो, भैसी देखि जोगी डरायो भने जस्तै सम्बन्धले योजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको हो,” उहाँले भन्नुभयो “कार्यालय प्रमुखहरुले योजना तथा कार्यक्रमको बारेमा जनप्रतिनिधीसँग सल्लाह, समन्वय गर्ने र जनप्रतिनिधीहरुले सहजिकरण गर्न आवश्यक छ ।” अर्का प्रदेश सांसद भण्डारीले योजना छनौट देखि कार्यान्वयन सम्म सहभागितामुलक, पारदर्शीता, गुणस्तरीय र प्रभावकारी बनाउन समिति मार्फत नियमित छलफल, अन्तरक्रिया, समन्वय र स्थलगत अनुगमन गरिने बताउनुभयो ।