म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ नरालेदेखि बिम्बाङ्ग जोड्ने पदमार्ग निर्माण भएको छ । पैदलयात्रीलाई जोखिमपूर्ण रहेको बाटोलाई गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित योजनाबाट बनाइएको हो ।
भौतिक पूर्वाधार निर्माणसँगै स्थानीय सीप र सामुदायिक सहभागितामा १.५ मिटर चौडाइको नयाँ पदमार्गमा १ सय ४२ मिटर सोलिङ्ग, ३ सय ५० मिटर मर्मत र १ सय ४५ वटा सिँढी निर्माण सम्पन्न गरिएको छ । पदमार्गको निर्माणसँगै बिम्बाङ्ग क्षेत्रका बासिन्दाहरूलाई अन्त्येष्टिस्थलसम्म आवतजावतका लागि सहज भएको उपभोक्ता समिति अध्यक्ष भक्तबहादुर जुग्जालीले बताउनुभयो ।
योजना कार्यान्वयनसँगै ५० दिने सडक मर्मत तथा संभार तालिम प्रदान गरिएको मालिका गाउँपालिका रोजगार सेवाकेन्द्रकी संयोजक सावित्री गर्बुजाले बताउनुभयो । रोजगार कार्यक्रममा सहभागिलाई तालिमले स्थानीयस्तरमा दीर्घकालीन सीप विकास र आत्मनिर्भरताको आधार तय गरेको संयोजक गर्बुजाको भनाई छ ।
उक्त पदमार्गका लागि ४ लाख १४ हजार बजेट रहेको थियो । गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीका अनुसार सिमित बजेटमा समुदायस्तरका समस्या समाधानमा स्थानीयको भूमिका निकै प्रशंसनीय रहेको छ । एक सय दिनको रोजगारमा सहभागिले सरकारको योजना राम्रो भएपनि यसलाई र्दिघकालिन संरचना सहित बजेट ब्यवस्थापन गर्नेमा सहज हुने बताउनुभयो ।