मालिकाको रुममा १७ वटा पसलको अनुगमन

0
4

मालिका गाउँपालिका–२, रुममा बिहीबार संयुक्त रुपमा बजार अनुगमन भएको छ । रुम गाउँमा सञ्चालित पसल तथा दैनिक उपभोग्य सामानहरुको प्रयोगको वास्तविक अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा सहकार्यमा संयुक्त बजार अनुगमन गरिएको जनाइएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसी र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाको एक टोलीले रुम गाउँको विभिन्न स्थानमा सञ्चालित किराना तथा खुद्रा पसल, होटल तथा रेष्टुरेण्ट, बेकरी र मडिकलसहित १७ वटा पसलको अनुगमन गरेको थियो ।

अनुगमन टोलीले रुममा सञ्चालित सिर्जना फेन्सी स्टोर्स, लिलबहादुर पुनको पसल, नारायण एण्ड गगन इन्टरप्राईजेज, नारायण एण्ड गगन खाजाघर, प्रबिसा मडिकल हल, दुरलेक होटल एण्ड रेष्टुरेण्ट, शेरचन फेन्सी भाँडा तथा किराना स्टोर्स, प्रिन्सेस खाजाघर, दलकुमारी किराना पसल, सिमरन हर्मेलको पसल, यु.जि. स्टोर्स, आशिष एण्ड सागर खाजाघर, रितिक घर्तीमगरको पसल, रुम बेकरी कोसेली उद्योग, धनमाया पुनको पसल र अभिषेक फेन्सी पसलमा अनुगमन गरिएको जनाएको छ । अनुगमन टोलीबाट पसल दर्ता तथा नवीकरण गरे नगरेको, पसलभित्र राखेका सामानको प्रयोगको अवस्थालगायत विषयहरुमा अनुगमन भएको थियो ।

अनुगमनको क्रममा केही पसलहरु दर्ता नगरिकनै सञ्चालन गरेको पाइएको छ । यसैगरी कतिपय पसल गाउँपालिकामा दर्ता भए पनि स्थायी लेखानम्बर नलिएको, एउटा पसल दर्ता गरेर अर्कै प्रकृतिको पसल सञ्चालन गरेको, किराना र फेन्सी पसलका सामानहरु एकै ठाउँमा राखेर बिक्री वितरण गरेको, एकथरी पसल दर्ता गरेको तर उद्देश्य फरक राखेको, पसलमा मूल्यसूची नटाँसेको, साईनबोर्ड नराखेको, म्याद सकिएका सामानहरु टाँसीमा राखेर बिक्री गरेको जस्ता कमीकमजोरीहरु भेटिएका छन् ।

अनुगमनमा भेटिएका कमी कमजोरीहरुलाई सुधार गरी आउँदो २१ गतेभित्र पसल दर्ता गरेर त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउन निर्देशन जारी गरिएको पर्यटन तथा उद्योग कार्यालयका कम्प्युटर सहायक ढुङ्गानाले जानकारी दिनुभयो । म्याद सकिएका सामानहरुमा चिसो पेयपदार्थहरु कोकाकोला, स्प्राईट, फेन्टा तथा सुजी, कुरकुरे, दालमोठलगायत रहेका छन् । रुममा पहिलोपटक अनुगमन गरिएको हो भने म्याद सकिएका सामानहरुलाई छुट्टै व्यवस्थापन गर्न सुझाव दिइएको छ ।

अनुगमनमा भेटिएका कमजोरीहरुलाई सुधार गर्न र कानुनी प्रक्रिया पुरा गरेर मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको सहायक प्रजिअ आचार्यले बताउनुभयो । उपभोक्ताहरुको हकहित र स्वास्थ्यलाई मध्यनजर गरी व्यवस्थित तरिकाले पसल सञ्चालन गर्ने वातावरण बनाउनका लागि बजार अनुगमन गरिएको थियो । वडास्तरमा सञ्चालित पसलहरुको पनि समय समयमा अनुगमन गरी चुस्तदुरुस्त बनाउन र आम उपभोक्ताहरुलाई सचेत बनाउनुपर्ने आवश्यकता देखिएको छ।