जिल्ला बाल सञ्जाल म्याग्दीले बालअधिकार संरक्षण र प्रर्वद्धनका विषयमा जनप्रतिनिधी र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक विकास कार्यालय, म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधी र सुरक्षा अधिकारीहरुलाई सञ्जालले बालबालिकाहरुको विद्यमान समस्या समाधानका लागि छ बुदे ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
सञ्जालका प्रतिनिधी अभिशेक पौडेलले शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच वृद्धि, बालश्रमको अन्त्य, बालबिवाहको अन्त्य, बजेट र योजना निर्माणमा सहभागिताका लागि ध्यानाकर्षण गराइएको जानकारी जानकारी दिनुभयो ।
शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता, बजेट तथा नीति, समन्वय र सहकार्य सम्बन्धी छ वटा विषयमा कार्यक्रममा सहभागी गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठलाई ध्यानाकर्षण गराइएको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य जुग्जालीले असल आचरण, नैतिकवान र संस्कारयुक्त समाज निर्माणमा बालबालिकाहरु प्रबिधीको नकारात्मक पक्षबाट टाढा रहनुपर्ने बताउनुभयो । समाज सुधारका लागि बाल सञ्जालले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने र त्यसमा जनप्रतिनिधीहरुको तर्फबाट साथ दिने प्रतिवद्धता जनाउनुभयो ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले नेपालमै पहिलो बालश्रममुक्त घोषणा भएको रघुगङ्गामा सो कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिदै भौतिक पूर्वाधारलाई बालमैत्री बनाइएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बालबालिकाले आफ्नो अधिकारबाट बञ्चित हुने अवस्था आएमा राज्यका निकायमा सहयोग माग्न अनुरोध गर्र्नुभयो । जिल्ला बाल अधिकार सञ्जालका अध्यक्ष कोमलनाथ ढुङ्गानाले अभिभावक जिम्मेवार नहुँदा सडकमा आएका बालबालिकाहरुको पहिचान र व्यवस्थापनको चुनौति औल्याउनुभयो ।
बाल सञ्जालका अध्यक्ष रेजिना भण्डारीले हिंसा तथा दुरव्र्यवहार र बालबिवाह प्रमुख चुनौतिका रुपमा रहेको बताउनुभयो । बालबालिकाको क्षेत्रमा जिल्लाका समस्या पहिचान गरि समाधानका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउने, सञ्जाल र समितिलाई सक्रीय बनाउन कार्यक्रम आयोजना गरेको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले बताउनुभयो ।