न्यायिक संवाद तथा कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण

0
31

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा बिहीबार न्यायिक संवाद तथा कानुनी सचेतनासम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिका न्यायिक समितिको आयोजना र वडा कार्यालय रुमको समन्वयमा अभिमुखीकरण गरिएको हो ।

वडास्तरमा न्याय र कानुनको सचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मालिका गाउँपालिकाले जनाएको छ । कार्यक्रममा विवाद र द्वन्द्वको अवधारणा, विकास, कानुन न्याय, न्यायिक समितिको संवैधानिक व्यवस्था, महत्व, सिद्धान्त, न्यायिक समितिको क्षेत्राधिकार, विवादका प्रकृति र मेलमिलाप, सामाजिक न्याय मानवअधिकार, लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण विषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रमको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल र न्यायिक सहजकर्ता मिठु आचार्यले सहजीकरण गर्नुभएको थियो । सोही अवसरमा अभिमुखीकरण कार्यक्रमलाई म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसी, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक सन्तोष ढुङ्गाना लगायतको विशेष उपस्थिति रहेको थियो ।

यसअघि न्यायिक समितिले मालिका गाउँपालिकाको विम, देवीस्थान र डाँडागाउँमा न्यायिक संवाद तथा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ । रुमका वडा अध्यक्ष उदयकुमार बुढाथोकीको विशेष उपस्थिति रहेको कार्यक्रममा वडा सदस्य, पालिकाका कर्मचारी, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो ।