नारच्याङको रेलेखोलाबाट ६ मेगावाट विद्युत थपिदैं

0
28

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युतले बैशाख महिना भित्रै परीक्षण उत्पादन शुरु गर्ने तयारी गरेको छ । आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण सुरु गरेकाले बैशाख महिनाभित्र नै विद्युत उत्पादनको चरणमा प्रवेश गर्ने आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए ।

उनका अनुसार बाँध देखि विद्युतगृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी भरेर प्राविधिक टोलीबाट परिक्षण थालिएको छ भने भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकेर परिक्षणको काम अन्तिम चरणमा पुगेको छ ।

यससँगै म्याग्दीबाट थप ६ मेगावाट विद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिने छ । रेलेखर्कको विद्युतगृह, स्विचयार्ड र दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रशारण लाइन निर्माण भएको छ ।

निर्माण कम्पनीले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०÷५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी (डसेण्डर), रेलेखर्कमा विद्युतगृह निर्माण र बाँध देखि विद्युतगृह सम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको जनाएको छ । आयोजनामा सुरुङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो ।पाँच सय पाँच मिटर माथिबाट विद्युतगृहमा पानी खसालेर विद्युत उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स.२०७९ मा निर्माण शुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पु¥याउँदा कार्यतालिका प्रभावित बनेका हो ।

अस्थायी बाँध बनाएर डिसेण्डरमा पानी खसालेर आयोजना सञ्चालन गर्न लागिएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको र विद्युत उत्पादनपछि पनि समुदायस्तरलाई लाभ हुने वडा सदस्य श्याम पुर्जाले बताए ।एक अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् ।

यस आयोजनाले नारच्याङको बेशीगाउँ देखि लेकगाउँहुदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ । हालसम्म अन्नपूर्ण गाउँपालिकामा निर्माण भएका ७१ मेगावाटको निलगिरि दोस्रो, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला र पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिइसकेको छ ।

अन्तिम चरणमा पुगेका थप आयोजनाहरु
म्याग्दीमा कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ४५६ दशमलव ५ मेगावाट विद्युत् थपिने छ । निर्माणाधीन आयोजनामध्ये केही यसै आर्थिक वर्ष र केही आउँदो वर्ष केन्द्रीय प्रसारण लाइनमा जोडिँदै छन् । केही आयोजनाले भने पहुँचमार्ग निर्माण गरी टनेल खन्ने तयारी गरेका छन् । त्यस्तै ४० दशमलव ७ मेगावाट क्षमताको निलगिरि पहिलो, ३७ दशमलव ५ मेगावाटको मङ्गले राहुघाट आयोजना अन्तिम चरणमा छन् ।

अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव ५ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कुल ३९ अर्ब ५० करोड २४ लाख लागत अनुमान गरिएको १८० मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजनाले वित्तीय स्रोत व्यवस्थापन गरेर निर्माणको तयारी गरेको छ ।

रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, ४८ दशमलव ५ मेगावाटको माथिल्लो राहुघाट, २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना र सबैभन्दा माथि २२ दशमलव ५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । उनका अनुसार ३७ दशमलव ५ मेगावाटको मङ्गले राहुघाटले परीक्षण उत्पादनको तयारी गरेको छ ।