म्याग्दी– समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन सम्बन्धी विषयको तालिम दिइएको छ । उनीहरुलाई सिप सिकाएर आत्मनिर्भर तथा सशक्त बनाउने उद्देश्यसहित व्यावसायिक बाख्रापालनका लागि तालिम प्रदान गरिएको हो ।
मंगला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा बाख्रापालन तालिम सञ्चालन गरिएको थियो । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम’ अन्तर्गत एक हप्तासम्म चलेको तालिममा मंगला गाउँपालिकाको ५ वटा वडाबाट २५ जना एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुलाई समेटेर तालिम दिइएको छ ।
तालिममा महिला हिंसाको अवस्था, आर्थिक सशक्तिकरण, व्यावसायिक उत्प्रेरणा, बाख्राको परिचय, महत्व र आवश्यकता, स्थानीय प्रजातिको बाख्रापालन तथा वातावरणीय अनुकुलता, बाख्रालाई खोरको तयारी तथा व्यवस्थापन, खोरको सरसफाइ, बाख्रापालनमा ध्यान दिनुपर्ने विषयहरु, आवश्यक सामग्रीको परिमाण र व्यवस्थापन, नजिकका बाख्रा खोरको अनुगमन, खोर तयार गर्ने कार्यको अभ्यास, लक्षित समुदायले प्राप्त गर्ने अनुदानसहित राज्यबाट पाउने सेवासुविधाहरु, बाख्रापालनमा आउने जोखिमका विषयमा सहजीकरण गरिएको थियो ।
यसैगरी बाख्रापालन व्यवसायको जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनको साथै बीमाको प्रावधान, बाख्रालाई लाग्न सक्ने रोगका प्रकारहरु, रोगबाट बचाउने उपाय र विधिहरु, पोषिलो खाना तथा उत्पादनको तरिका, व्यावसायिक योजना, बजार व्यवस्थापन तथा नाफा र घाटा निकाल्ने तरिका, व्यवसाय प्रवद्र्धन र बजारीकरण, सफल व्यवसायीको स्थलगत अनुगमन, व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषय, व्यवसाय दर्ता र नवीकरणको प्रक्रिया, व्यावसायिक सहजकर्ता समयको उपलब्धता साथै समन्वयकारी भूमिका, व्यावसायिक निरन्तरता, समूह गठन व्यवस्थापन, माइन्युटलेखन तथा खातापाता सञ्चालनबारे प्रशिक्षण दिइएको छ ।
तालिमको मंगला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुदर्शन पौडेल, लेखा अधिकृत प्रकाश शर्मा, पशु विकास अधिकृत सगुन बराल, पशु सेवा प्राविधिक रबि विष्ट, नायव पशु स्वास्थ्य प्राविधिक विजयकुमार ठाकुर, महिला बालबालिका तथा समाजकल्याण इकाई प्रमुख अनिताकुमारी शर्मा, एम.आई.एस. अपरेटर लेखनाथ सापकोटा र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले सहजीकरण गर्नुभएको थियो । तालिम गएको आइतबार सुरु भई शनिवार सकिएको छ ।
तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले तालिमपश्चात् महिला दिदीबहिनीहरुले अब व्यावसायिक रुपमा बाख्रापालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले तालिममा सिकेका ज्ञान, सिपलाई पूर्णरुपले व्यवहारमा उतारेर गाउँपालिकाले सहयोग गर्ने बिऊपुँजीमा थपेर बाख्रापालन गर्न सुझाव दिनुभयो । मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले सुमदायमा पछाडि परेका महिलाहरुको उत्थान गर्न व्यावसायिक तालिम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालु र मंगला गाउँपालिकाको महिला बालबालिका तथा समाजकल्याण इकाई प्रमुख अनिताकुमारी शर्माले तालिमपछि बाख्रापालन सुरु गर्नुपर्ने र त्यसको गाउँपालिकामार्फत अनुगमन गरिने बताउँदै म्याग्दीमा मंगला र धवलागिरि गाउँपालिकामा यसवर्ष राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन भैरहेको बताउनुभयो । मिलन म्याग्दीका कर्मचारी राम खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी छककुमारी छन्त्यालले अनुभव सुनाउनुभएको थियो ।
तालिमकै अवसर पारेर बुधिकला रोका अध्यक्ष, सीतादेवी रोका उपाध्यक्ष, छककुमारी छन्त्याल सचिव, रिता थजाली रोका कोषाध्यक्ष र भूमिसरा रोका सदस्य रहेको मंगला गाउँपालिका बाख्रापालन समूह समेत गठन गरिएको छ । मंगला गाउँपालिकामा गतवर्ष पनि मिलन म्याग्दीको आयोजना तथा व्यवस्थापनमा लक्षित समूहका महिलाहरुलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम सञ्चालन भएको थियो ।