बेनीमा पहिलोपटक महिला फुटबल प्रशिक्षण हुने

0
15

म्याग्दीमा महिला फुटबलका प्रतिभाको खोजी गर्न पहिलोपटक प्रशिक्षण हुने भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा बेनी नगर फुटबल संघद्धारा आगामी बैशाख २२ गतेदेखि जेठ ५ गतेसम्म खुल्लामञ्चमा प्रशिक्षण गर्ने भएको हो ।

१० बर्षभन्दा माथिका किशोरीले प्रशिक्षणमा सहभागिता जनाउन बैशाख २० गतेभित्र फारम बुझाउनुपर्ने बेनी फुटबल संघका सचिव उपेन्द्र गिरीले बताए । उनका अनुसार दर्ता शुल्क ५ सय रुपैयाँ रहेको छ भने आर्थिक अवस्था कमजोर भएकालाई निशुल्क उपलब्ध गराइने छ ।

बेनी नगर फुटबल संघका अध्यक्ष देबेन्द्र चोखालले यसपटक प्रशिक्षणबाट म्याग्दी जिल्लाका पालिकास्तरमा रहेका खेल प्रतिभाको पहिचान हुने बताए। उनले प्रशिक्षणमा पालिका तथा जिल्लास्तरीय टिम बनाउन समेत सहज हुने भएकाले अवसरलाई सदुपयोग गर्न समेत फुटबलमा रुची रहेका छात्राहरुलाई अनुरोध गरे ।

प्रशिक्षकको संंयोजक म्याग्दी फुटबल संघका अध्यक्ष कुमार बानियाँले गरेका छन् । जिल्ला खेलकुद विकास समिति र म्याग्दी फुटबल संघको समेत सहकार्यमा हुने प्रशिक्षणको मुख्य उदेश्य खेल प्रतिभालाई प्रष्फुटन रहेको छ ।

म्याग्दीमा लायन्स क्लव अफ बेनी लभ्लीहिलले हरेक बर्ष जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने गरी सुरुवात गरेको छ । प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

छात्रा फुटबल प्रतियोगिता निरन्तर सञ्चालन गर्नकालागि जिल्ला फुटबल संघ म्याग्दी र लायन्स क्लब अफ बेनी लभ्लिहिबिच संस्थागत सम्झौता समेत भएको छ । म्याग्दीमा हुने महिला फुटबल प्रतियोगिताकै कारणमहिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट मंगला गाउँपालिका–२, सहस्रधाराकी निकिता सिङ ठकुरी र मालिका गाउँपालिका–५, देविस्थान दांगाकी दिपा बुढा टिममा छनौट भएका थिए ।

यो म्याग्दीले पाएको पहिलो अवसर हो । त्यस्तै गण्डकी प्रदेश फुटबल संघको प्रतियोगिताका लागि छनोट खेलमा ११ जिल्लाबाट १३५ जना खेलाडीको उपस्थिति रहेकोमा म्याग्दीबाट ९ जनमध्ये ८ जना पहिलो चरणमा पर्न सफल भएकाले प्रदेशस्तरीय तालिममा समेत सहभागि हुने अवसर पाउने छन् ।