अस्ट्रेलियामा रहेका म्याग्देली फुटबल प्रेमीहरूको संस्था दि रियल म्याग्दीको आयोजनामा प्रथम रियल फाइभ ए साइड फुटसल प्रतियोगिता हुने भएको छ । आगामी मे महिनाको ११ तारिकमा ग्रानभिल फुटसल सेन्टरमा हुने प्रतियोगिताको प्रचारप्रसार तिब्र पारिएको छ ।
शैक्षिक परामर्शदाता एभरेष्ट ग्लोबल एजुकेशनको प्रायोजनामा हुन लागेको प्रतियोगिताको विजेताले ४ हजार डलर र उपविजेताले २ हजार डलर पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ताले ट्रफी पाउनेछन् ।

मे महिनाको ९ तारिकसम्म टिम दर्ता गर्नुपर्ने छ । टिम दर्ता शुल्क ३ सय डलर रहेको छ । दि रियल म्याग्दी सनम चोखाल, आषिश पुन, रेमन श्रीष, विश्वास राना, रविन बानियाँ, बिशाल घर्ती, दिप्सन कार्की, प्रवेश घिमिरे, आयुश रावल, निशान राम्जाली र सुदिप बानियाँले गठन गरेका थिए ।
म्याग्दीमा हुने फुटबल प्रतियोगितामा समेत खेलेका खेलाडीहरु रोजगारका लागि अस्ट्रेलियामा पुगेपछि गठन गरेको क्लवमार्फत लायन्स क्लव अफ बेनी लभ्लीहिलको प्रथमा छात्रा फुटबलमा प्रयोजना समेत गरेका थिए । पछिल्लो समय एक टिममा नाइन ए साइड जस्तै सेभेन ए साइड फुटबलसँगै फाइभ ए साइड फुटसल पनि निकै लोकप्रिय छ ।