नमस्कार , म उर्मिला सुबेदी , धौलागीरि को प्रवेशद्वार धारापानी, सुन्दर प्रकृतिको छटाहरुमा फेदीबाट कलकल सुसाउने म्याग्दी नदि र बाघराजको बक्षस्थलमा वि।स। २०६७ असोज ७ गते बुबा अग्निकुमार सुवेदी र आमा टिकाकुमारी सुवेदीको कोखबाट एक सामान्य परिवारमा मेरो जन्म भएको हो।उत्तरमा दन्तलहर देखाएर हाँसिरहने गुर्जा र धौलागिरीको हिमशृंखलामा सधैं मुस्कुराउने गर्छ मेरो गाउँ। त्यहि गाउँमा परिवारको चाहना छोरा पाउने आशा मा जन्मिएकि म कान्छी सन्तान हुँ। म अगावै दुई दिदी र एक दाजुको जन्म भएको थियो।
विडम्बनाको कुरो मेरो बाबा जन्मजातै शारीरिक अपाङ्ग भएको कारण आमा पनि उस्तै नै भेटाउनु भयो तरपनि हामीलाई जन्म दिएर हाम्रै लागि सकी नसकी कामधन्दा गरी परिवार लाई हुर्काउनु भयो। पछाडी मेरो जेठोबुबा र माइलोबुबाको सन्तान नभएको कारण हामी चार भाईबहिनी लाई पालना पोषण गर्ने जिम्मा बांडफांड भयो र म र मेरो दाजु मेरो माइलोबुबाको शरणमा पर्यौ। उहाँले हाम्रो रामो संग रेखदेख गर्नुभयो, हुर्काउनु भयो, पढाउनुभयो र गलत संगत गर्न दिनु भएन। फलस्वरूप स् आज म कक्षा १० मा प्रवेश गरेको छु।
स्टुडेन्ट भाइब्स एजुकेसन अस्ट्रेलिया बैदेशिक रोजगारीमा जाने जो कसैलाई पनि सहयोग गर्दै आएको संस्था रहेछ। बिगत केहि वर्ष यता यो संस्थाले नेपाली समाजमा सामाजिक कार्य पनि अगाडी बढाएको रहेछ। दीनदुखी हरुलाई सहयोग गर्नुको साथै विद्यालयका विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाहरुलाई उजागर गराई विश्वसामु पुराउने कार्य पनि यसले गरेको रहेछ। सोहि कार्य अनुरुप बेनी अनलाईन संग सहकार्य गरी माग्दिका स्थानीय तहमा रहेका हरेक माध्यमिक स्तरका विद्यार्थीहरुलाई बोल्ने बानीको विकास गराउन अब म पनि बोल्छु नामक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको रहेछ । बेनी अनलाइन जसले म्याग्दी जिल्लामा रहेर पनि हरेक क्षेत्रको सामाजिक कार्य मा तीब्रता दिएको संस्था रहेछ ।
शारारिक अशक्त होस या दैविक प्रकोपमा परि विचल्ली परेका परिवार होस सबैलाई सेवा गर्ने बेनी अनलाइन देश बिदेशका सत्य तथ्य समाचार सम्प्रेषण गरी मिडिया क्षेत्रमा एउटा छुट्टै स्थान बनाउन सफल संस्थासंग संयोगको कुरा भनौंको स्टुडेन्ट भाइब्स एजुकेसनको सहकार्य भएर विभिन्न शिर्षकमा म्याग्दीमा रहेका स्थानीय तहहरुको माध्यमिक स्तरका विद्यार्थीहरु बीच प्रतिभा प्रस्फुटन गरी छनोट गर्ने कार्य अनुरुप पालिकामा खबर भएछ र पालिका बाट हरेक माध्यमिक विद्यालयमा जानकारी प्राप्त भयो।
म धौलागिरि जस्तो विकट पालिकाको विद्यार्थी त्यसमा पनि ग्रामिण क्षेत्र र कक्षा ९ पढ्दै गरेकी , मेरो विद्यालय श्री किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयमा पनि यो सूचना आईपुग्यो । कक्षा १० का दाईदिदीहरुको एस।इ।इ परिक्षा नजिकिदै गरेको कारण शिक्षकहरुले उक्त प्रतियोगितामा सहभागी हुन मलाई पठाउने निधो गर्नुभयो । कक्षा ९ को प्रथम छात्रा र किशोरी संजाल मा बालविवाह न्यूनीकरण जस्ता कार्यमा अग्रसर भएको हुनाले पनि शिक्षकहरुको नजर ममाथी परेको होला सायद , तर मलाई भने बाहिरि कार्यक्रममा खाशै सहभागी नभएको कारण पनि होला मनमनै डर पैदा भैरहेको थियो त्यसैमाथी पनि प्रतियोगिताको समय छोटो प्रतियोगिता हुन तीन दिन बाँकी थियो त्यसैकारण पनि कसरी तयार गर्ने भन्ने लागिरहेको थियो । हाम्रो पालिकामा रहेको प्रतियोगिताको शिर्षक सीपमूलक शिक्षा आजको आवश्यकताु भन्ने रहेको थियो ।
फागुन २३ गतेको कार्यक्रम छ, धौलागिरि गाउँपालिकामा ११ माध्यमिक विद्यालय छन् त्यसैमाथी पनि विकट क्षेत्र भएकोले पालिकाले एउटा विद्यालयको दुईजना सम्मले भाग लिन पाउने व्यवस्था गरेको रहेछ । कति जना प्रतिस्पर्धी हुने होलान र कसरी बोल्ने होला र भन्ने जस्ता मनमा धेरै डर पैदा भएको थियो तरपनि शिक्षकहरुको हौसला र सहयोगले मनमा साहस पैदा हुँदै गयो र तयारी पनि गर्दै गएँ समय आयो, कार्यक्रम ११ बजेदेखि थियो सवारीसाधनमै पालिका सम्म पुग्न हामीलाई १ घण्टा वेशी लाग्थ्यो । सर संग धौलागिरि गाउँपालिकाको कार्यालयमा पुगियो । कार्यक्रमको तयारि हुँदै थियो प्रतियोगितामा भाग लिन आउने विद्यार्थी साथीहरु संग चिनजान पनि हुँदै गयो बिडम्बना मनमा अदम्य साहस हुँदा हुँदै पनि कताकता फेरी डर लागिरहेको थियो । यसर्थ पनि कि प्रतियोगितामा ११ ,१२ कक्षाका विद्यार्थीहरु पनि हुनहुन्थ्यो । प्रतियोगिता शुरु भयो । प्रतिस्पर्धी ११ जना भयौं । प्रतियोगिताको रोल क्रम तय गर्न गोलाप्रथा मा मलाई ८ नम्बर पर्यो । जति समय छोटीदै जान्छ उति मनमा ढुकढुक बढिरहेको थियो। आफ्नो पालो नआउँदा सम्म हामी बाहिर बस्ने ताकी आफु अगाडिको प्रतिस्पर्धीको प्रतिभा हेर्न र सुन्न नपाईयोस भन्ने नियम थियो त्यसैले अरुले मन्चमा देखाएको प्रतिभा बाट आफु भने त्रसित हुनुपरेन । पालो आयो, मन्चमा गएर आफूले सके जति बोलें । बोल्दै जाँदा डर पनि हट्दै गयो । जे होस राम्रै गरें कि जस्तो मनमा लाग्यो । कार्यक्रमको रिजल्ट चैत्रमा ९ एस।इ।इ को परिक्षापछी हुने जानकारी थियो ।
चैत्र १८ गते रिजल्ट आउने दिन, सदाको भन्दा मन त्रसित थियो । के होला, कस्तो होला रु प्रथम मात्र छनोट हुने यदि रिजल्ट राम्रो भएन भने त । यस्तै यस्तै मनमा अनेक तरंगहरु उत्पन्न भएका थिए । रिजल्ट बेलुकी पाँच बजे हुने भन्ने थियो । समयलाई पर्खेर बसेको थिएँ । स्टुडेन्ट भाइब्स एजुकेसन र बेनी अनलाइन को फेसबुक पेजबाट रिजल्ट प्रत्यक्ष सार्वजनिक गर्ने जानकारी थियो । ५ बज्यो, तर विविध कारणवश होला साढे ६ बजे हुने जानकारी आयो । घरमा बसेर आफ्नै दैनिकी हरुको पाटो छुट्टै , बेलुकीको समय जति मलाई मेरो रिजल्टको आशा थियो त्यो भन्दा वेशी चटारो आफ्नो दैनिकीको । यहि त होला हामी जस्तो न्युन आयस्रोत गरेको मान्छेको जिन्दगि । म गाई खोज्न जंगलतिर गएँ । खोई किन त्यहि दिन गाईलाई भेटिएन ।
यता रिजल्ट प्रशारण समय आईसक्यो उता म अझै जंगल छु । कस्तो धिक्कार लाग्दो समय ७ बजेपछी मात्र म घर आईपुगें । घर आउँदा बित्तिकै माइलो बुबाको मोबाइलमा फोन आयो । सरको रहेछ, हेल्लो भनि नसक्दै सरले बधाई छ उर्मिला भन्नु भन्यो । मेरो ध्यान कता थियो, कुन मोडबाट घर आको थिएँ सबै बिर्सिएर एकैपटक खुशीले कहाँ हो कहाँ आकाशमा उडेजस्तै भएछु । सर संग अरु केहि बोल्न सकिन, कति खुशी भएको थिएँ होला वयानै गर्न सक्दिन । त्यो समय हर्षमा आसुँ पनि झर्यो, यतिको खुशी भएको थिएन सायदै जिन्दगीमा त्यो दिनको सफलता मेरो अन्य सफलता भन्दा ठूलो सफलता लागेको थियो ।
रिजल्ट सार्वजनिक भएकै दिन फाइनल चरणको जिल्ला स्तरमा हुने वक्तृत्वकलाको शिर्षक पनि आयोजकबाट तय भैसकेर सार्वजनिक भएको थियो । १। बैदेशिक अध्ययन र मातृभूमिप्रति उत्तरदायित्व २। प्रतिभा पलायन, चुनौती र समाधान ३।अन्तर्राष्ट्रिय शिक्षा व्यक्तित्वदेखि व्यवसायसम्म यी तीन शिर्षकमा तयारि गर्नु पर्ने थियो ।
विद्यालय विदाको समय थियो। बिदाको समयमा प्रतियोगिताको तयारि गर्न सहज त थियो नै असहज पनि उत्तिकै थियो किनकि तीन फरक शिर्षकमा तयारी गर्नु थियो। जिल्ला स्तरीय प्रतिस्पर्धा भएकै कारण पनि तीब्र तयारि गर्नु थियो । तयारीको प्रक्रिया अगाडी बढ्यो तर किन किन यो पालि जति तयारि गरेपनि पनि अधुरो जस्तै लागेको थियो । शिक्षक संग सहकार्य गर्थें गलतहरुमा सुधारको प्रयास गर्थें ।
मनले सोच्थ्यो सबैको हौसला पाउँ तर समय फरक भएको कारण पनि होला या विद्यालय विदाको समय भएर होला टाढाको शिक्षकहरु आ-आफ्नै घर जानु भएको र व्यस्त भएकोले पनि अघिपछि भन्दा त्यति धेरै साथ सपोर्ट नपाएको मनले अनुभव गरिरहेको थियो तर यति कुरा लेखेर मैले शिक्षक हरुको चित्त दुखाउन खोजेको होइन । त्यस्तो बेला सबैलाई सायद यस्तै हुन्छ होला र शिक्षकहरु को साथ सपोर्ट नै नभएको भए म त्यो स्थानमा पुग्न कहाँ सक्थें र पालिका उत्कृस्ट भएर जिल्लामा प्रतिस्पर्धा गर्न जानु चानचुने कुरा पनि त थिएन ।
भगवानले तँ आँट मा पुर्याउछुू भन्छन रे सायद मलाई पनि त्यस्तै भयो । मेरो लागि चिन्ता चासो, साथ, सहयोग र हौसला प्रदान गर्ने धेरै शिक्षक नपाएपनि केहि शिक्षक त हुनुहुन्थ्यो सायद यतिबेला मैले उहाँलाई सम्झिन सकिन भने मलाई त्यो भन्दा बेशी पछुतो जिन्दगीमा कहिल्यै हुनेछैन । मेरो लागि जति गर्नु भएको छ त्यो महान छ । सबै शिक्षक तपाईजस्तो भैदिए कुनै विद्यार्थी असफल हुने थिएन ।
भगवानले मेरो प्रतिभा देखेर तपाईलाई साथ दिन पठाउनु मेरो लागि अहोभाग्य पनि हो । आजीवन म हजुरप्रती ऋणी छु । तपाई भएकै कारण पनि एक अर्थमा मनमा अदम्य साहस जुटिरहेको थियो कारण हजुरले भनेको आफुले अनुशासित बनेर प्रयास, मिहिनेत गर्नुपर्छ, मनमा निस्वार्थ भावना पाल्नुपर्छ एक न एक दिन सफल हुन्छू भन्ने कुरो मेरो लागि जीवनको पाठ बनेको थियो । प्रयास गर्दै गर्दा समय नजिकियो आयोजकबाट चैत्र २८ गते बेनी बजारको म्याग्दी बहुमुखी क्याम्पसमा एक दिनको क्षमता विकास तालिम राख्नु भएको थियो । त्यसमा सहभागी हुन शिक्षक संगै गएँ । धेरै कुरा बुझियो, सिकियो । मन्चमा कसरि बोल्ने, बोल्ने कलाको बानि र बिकास साथै बोल्ने तरिका सबै सिकियो ।
एक अर्थमा केहि नजानेको धेरै सिकेको जस्तो पनि लाग्यो । जे होस आज भन्दा भोलि तयारी तीब्र गर्नु थियो ।
बैशाख ३ गते प्रतियोगिताको दिन। आज पनि सम्झिरहेको छु त्यो दिन मेरो जिन्दगीको अर्को ठूलो खुशी सफलता थपिएको दिन। कसरि वर्णन गर्न सकुँला र म शब्दमा त्यो दिनको प्रतिस्पर्धामा भाग लिन म त्यो दिन बिहान करिव साढे नौं बजे सर संगै बेनीबजार प्रस्थान गरें। मनमा हुने डर, ढुकढुकी त कति थिए कति तरपनि साहस बोकेको थिएँ। प्रतिस्पर्धी साथीहरुसंग तालिमको दिन नै चिनापर्ची थियो । सबै संग भेट भयो । कार्यक्रमको सभा हलभरी सबै अतिथीहरु लगायत अन्य विद्यार्थीहरुको उपस्थिति थियो ।
प्रतियोगिता शुरु भयो । फरक तीन शिर्षकको वक्तृत्वकला प्रतियोगितामा गोलाद्वारा,प्रतिभा पलायन, चुनौती र समाधानू भन्ने शिर्षक छनोट भयो र मेरो बोल्ने पालो दोस्रो पर्यो। ्माहोल फरक, बौद्धिक व्यक्तित्वहरुको उपस्थिति, सबै हाम्रो ग्रामिण भेगमा हुने कार्यक्रम भन्दा फरक लागिरहेको थियो त्यसैमाथी पनि कहिल्यै अनुभव नगरेको ब्लुटुथ माइक्रोफोनको प्रयोग । केहि सिकिरहेको पनि थिएँ, अन्जान हुनुले केहि अफ्ठ्यारो पनि थियो । जे होस सबै झेल्दै आफ्नो वक्तृत्वकला सबैलाई सुनाएँ ।
सानो तर तीक्ष्ण आवाज, मान्छे पनि सानै भएकोले पनि दर्शकहरुको मन जित्न सकिन कि जस्तो थोरै लागेको थियो तर कति शब्द, बोलि, लवच र प्रस्तुति हाउभाउ लगायत अन्य निर्णयको पाटोले निर्णायक को मन जित्न सकें त्यो त जब रिजल्ट मा तृतीय, द्वितीय हुँदै प्रथम पोजिसनमा मेरो र स्कुलको नाम वाचन भयो तब मात्र लाग्यो ।
कति खुशी भएँ होला र कति खुशी थिएँ होला र सबैले फोटो भिडियो बनाउँदा माहोल कस्तो बन्यो होला र आहा १ त्यो दिन । पानि परेर मौसम खुल्दाको खुशी भन्दा माथी, प्रसब वेदनामा छटपटिएर छोरो जन्म दिएको आमाको हर्ष भन्दा माथी कति खुशी थिएँ होला र सर्वाधिक धनराशिको पुरस्कार नगद रु ५० हजार ट्रफी, मेडल, प्रमाणपत्र हातमा राखेर सबैसंग फोटो खिचीरहदा, सबैले बधाई दिईरहदा, नामको चर्चा भैरहदा कति हो कति खुशी लाग्यो।
आज पनि फेरी हामी जस्तो ग्रामिण क्षेत्रको विद्यार्थी प्रतिभालाई देश बिदेशमा पुर्याउन सहयोग गर्नुहुने स्टुडेन्ट भाइब्स र बेनी अनलाईन लाई हृदय देखि नै आभार प्रकट गर्दछु । यदि तपाईहरु जस्तो महान व्यक्ति नहुनु हुँदो हो त हामी जस्तो विद्यार्थीको प्रतिभा कहाँ प्रस्फुटन हुनु, कहाँ ठाउँ पाउनु र कहाँ पुरस्कार जित्नु जिन्दगि आखिर संघर्ष हो
मान्छे जन्मेपछि उसले हरेक संघर्ष पश्चात नै सफलता छुँदै अगाडी बढिरहेको हुन्छ चाहे त्यो वृद्धि होस चाहे विकास कुनै न कुनै कार्यमा सफलता चुम्न संघर्ष गर्नुपर्छ, मिहिनेत गर्नुपर्छ र आत्मविश्वास सहित अगाडी बढ्नुपर्छ तब जीवन सफल बन्छ र सुन्दर तुलिन्छ । त्यति मात्रै होइन आफ्ना प्रयासलाई सार्थकता तुल्याउन अवसर पनि पाउनुपर्छ ।
त्यही सुनौलो अवसर हामीले स्टुडेन्ट भाइब्स को आयोजना र बेनी अनलाईनको सहकार्यमा पायौं । सामाजिक, आर्थिक र दिनदुखिको सहयोगमा जुट्ने , सेवा गर्ने यस्ता संस्थाहरुको ठाउँ ठाउँमा खाँचो पनि छ । कसैले निस्वार्थ भावनाले कार्य गर्यो भने उहाँहरुको भावी पुस्तालाई पक्कै पनि हरेक क्षेत्रमा सफलता मिल्ने छ । पुन एकपटक आयोजकलाई धन्यबाद ।