सन्तुलित मन बराबर कुनै तपस्या छैन । सन्तोष बराबर कुनै खुसी छैन, लोभ बराबर कुनै विराम छैन, दया बराबर कुनै सदाचार छैन । – चाणक्य ।
बाँसुरी आफैमा संगीत होइन । संगीत अभिव्यक्त हुन बाँसुरीले कलाकारसँग मितेरी लगाउनुपर्छ । कलाकार एक्लै संगीतकार बन्न सक्दैन । ऊ संगीतकार बन्न बाँसुरीको संगत गर्नुपर्छ । अनिमात्र मिठो संगीतको जन्म हुन्छ । जतिबेला मिठो संगीतको सृजना हुन्छ । त्यतिबेलादेखि बाँसुरीको मूल्य अमूल्य बन्छ । यसर्थ बाँसुरीले आफ्नो मूल्य बोध गर्न कलासँग जोडिनुपर्छ । ठीक यसैगरी जीवन आफैमा अमूल्य नबन्न सक्छ । जीवन अमूल्य बन्न जिउने कला चाहिन्छ । जब जीवनसँग कला जोडिन्छ तब मनुष्य जीवन एकाएक अमूल्य बन्न थाल्नेछ ।
यसका साथसाथै समाजले समेत अमूल्य गहनाको रुपमा मूल्याङ्कन गर्न थाल्दछ । तब यस प्रकारका सानदार जीवन जिउनुृको मज्जा नै बेग्लै हुनेगर्छ । यहाँ यस्तै अमूल्य व्यक्तित्व हुनुहुन्छ रुप प्रसाद पुन । उहाँको जन्म पिता नरजङ पुन र माता बेलमति पुनको कोखबाट वि.सं. २००५ साल जेड ८ गतेका दिन मालिका गाउँपालिका ७ बिमको चौतारीबोट भन्ने ठाउँमा भएको हो ।
इमान्दार जीवनको सबैभन्दा उत्कृष्ट नीति हो । इमान्दरको नीतिले नै समाजमा विश्वासको सुगन्ध फैलाउँछ भन्ने मान्यता राखी सानै उमेरदेखि इमान्दारितालाई नै मूल सिद्धान्त मानेर हुर्केका पुन आफ्नो कर्म कर्तव्यमा उत्तिकै मेहेनती र लगनशील हुनुहुन्थ्यो । गाउँलेले मन पराउने स्वभाव भएका पुनलाई बेलायत सरकारले समेत मन परायो । सो अनुरुप वि.सं. २०२२ सालमा बेलायती सेनामा भर्ती हुनुभएको थियो ।
लगनशील, इमान्दार र कर्तव्यनिष्ठ भई बेलायत सरकारलाई सेवा गरेबापत् सार्जन पदले सम्मानित भएका पुन उन्नाइस वर्ष लगातार सेवा गरी सेवा निवृत्त भए लगत्तै बेनीबजारमा बसार्ईं सर्नुभएको थियो ।
समाज सेवा भनेपछि हुरुक्क हुने पुनले राजनीतिको माध्यमाबट जनताको सेवा गर्ने निष्कर्ष निकाले तत्पश्चात् तत्कालीन अर्थुङ्गे गा.वि.स. वडा नं. २ को अध्यक्ष पदमा नेकपा एमालेबाट निर्वाचित भई कुशल नेतृत्व गर्नुभएका पुन भूपू सैनिक अर्थुङ्गेबाट भूपू सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
सेवा नै परम धर्म हो भनी बुझेका पुनले मानवको सेवा गर्नु नै ठूलो पूजा मान्दथे । यही कारण म्याग्दीका हरेक गाउँबाट समस्या लिएर सदरमुकाम बेनी आएका सोझा, सज्जन, निमुखा जनताहरुको जिल्ला प्रशासन, अदालत, जिल्ला प्रहरी कार्यालय जस्ता सरकारी कामहरुमा उचित सल्लाह, सुझाव दिनुका साथै प्रत्यक्ष सरिक भई सहयोग गरेर सहजीकरण गरिदिन्थे ।
ब्रिटिस वेलफेयर अफिसका अफिसरहरुसँग समन्वय गरी पेन्सनका कागजपत्र नभएका भूपू सैनिकहरुलाई पेन्सन दिलाउने जस्तो महान कार्य गरेका पुनले डिस्चार्ज सर्टिफिकेट भएकाहरुलाई समेत पेन्सन दिलाउने काम गर्नु भएको थियो ।
यसका साथै ब्रिटिस वेलफेयर कार्यालयका अफिसरहरुसँग सहकार्यमा गरी बिम गाविसका वडाहरुमा खानेपानी, धारा, विद्यालयहरुमा कुर्ची, दराज, टेबुल जस्ता सामग्रीहरु मार्फत् थुप्रै सहयोग पु¥याएका थिए ।
आफ्नो पिताको सहयोगमा वर्णमाला मार्फत् पहिलो आधारभूत ज्ञान पाए । स्वाध्ययनमार्फत् ज्ञान हासिल गरेका पुनले आफ्नो समकालीन मगर समुदायको बीच लेखपढमा अब्बल थिए । उहाँको यस योग्यतालाई नेपालमा ८ कक्षा सरहको मान्यता दिइन्थ्यो । यसरी शिक्षामा राम्रो अभिरुचि राख्ने पुन निवेदन लेख्नमा पनि उत्तिकै सिपालु भएको कारण निवेदन लेख्न नजान्नेहरुलाई निवेदन लेखी सहयोग पु¥याउनुहुन्थ्यो ।
साथै धार्मिक ग्रन्थ, दर्शनशास्त्र तथा साहित्यिक पुस्तकहरु अध्ययन गर्न औधी रुचाउने, शिक्षाप्रेमी पुन जिल्ला शिक्षा परिषदको अध्यक्षमा समेत मनोनित हुनुभएको थियो । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ । यही भावबाट अनुमोदित भएका पुनले प्रत्येक छुट्टीमा गाउँ फर्केको बेलामा गाउँका हरेक वृद्धवृद्धाहरुको हातमा पैसा थमाएर खुब आदर सत्कार गरी आशिर्वाद लिनु गर्नुहुन्थ्यो । उहाँको यस्तै आदरभाव भएकै कारण बिम गाविसका वृद्धवृद्धाहरुको आदरार्थ वि.सं. २०५९ सालमा बिमाले जेष्ठ नागरिक तथा असहाय सहयोग संस्था नामक संस्था स्थापना गर्ने परिकल्पना गर्नु भएको थियो ।
यस संस्थामार्फत् वृद्धभत्ता प्रदान गरी वृद्धवृद्धाहरुलाई टेवा दिने उद्देश्यले स्थापना गरेको संस्थाको अक्षयकोष निर्माणार्थ पुनले रु.२५,०००।– बाट शुरुवात गरिदिएका उक्त अक्षयकोष अहिलेसम्म आइपुग्दा पाँच लाख बराबरको कोष निर्माण भएको छ । यस संस्थालाई कानूनी रुपमै संस्थागत गर्न मिति २०७०-११-०१ गतेका दिनमा ७ सदस्यीय प्रबन्ध समिति गठन भएको थियो । साथै गाउँको लोपोन्मुख कला, संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्देश्यले संरक्षण कोष समेत स्थापना गर्नुभएको थियो ।
यसै कोषबाट निरन्तर कला, संस्कृतिमा योगदान दिँदै आएका पुराना कलाकारहरुलाई पुरस्कारको व्यवस्था मिलाई प्रोत्साहन गर्ने लक्ष्य राखेका पुनले सोरठी नाचको भिडियो रेकर्डिङ्ग समेत गरिसक्नुभएको छ ।
वि.सं. २०५४ सम्म बेनी गलेश्वर मगर समाजको अध्यक्ष पदमा रहनुभएका पुनः नेपाल मगर संघ म्याग्दीका सल्लाहकार समेत हुनुहुन्थ्यो । यसपछि जागिरको सिलसिलामा हङकङतर्फ लागेका पुन हङकङको बसाइमा पनि थुप्रै त्यस्ता सामाजिक कार्यहरुमा सदैव क्रियाशील रहनुभयो । त्यसपश्चात् बेलायत सरकारले दिएको सेवा सुविधा उपभोग गर्न बेलायततर्फ लाग्नुभएको थियो ।
हाम्रो भाग्य ताराहरुले होइन हामी आफैले निर्धारण गर्छौं – विनियम शेक्सपियर ।
लगनशील, अनुशासन, इमान्दार जस्ता गुणहरुले युक्त रुपप्रसाद पुनसँग जीवन जिउने कला प्रशस्त थियो । यही कला भएकोले आफ्नो भाग्य आफ्नै सत्कर्मबाट निर्माण गरेका पुन सामाजिक रुपमा पनि उत्तिकै जनप्रिय व्यक्तित्व हुनुहुन्थ्यो । वास्तवमा मानव भएर जीवन जिउनुको परिभाषा पनि यही हो ।