म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भएका अन्दाजी ४० बर्षिय राजु विकले २७ बर्षिया भगवती विकलाई सोमबार राती हत्या गरेका हुन्। मदिरा सेवन गरेका राजुले श्रीमतीलाई दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा प्रहरीको टोली पुगेको छ ।
सोमबार पर्वतको जलजला गाउँपालिका वडा नं ३ गुफाटोलमा आमा गुमा विकलाई भेट्न गएकी मृतक भगवतीको शरीरमा चोटपटक देखिएको थियो। मदिराले मातेका श्रीमानले पटकपटक छोरीलाई कुटपिट गरी घाईते बनाउने गरेको मृतक भगवतीकी आमा गुमाले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हिजो छोरीलाई लिन घरमै पुगेका थिए, मैले छोरीलाई मार्छ भन्दै रोक्न खोज्दा पनि छोरी उतै जान्छे भनेर हिडेकी थिइन् ।’ घटनास्थल आसपासका स्थानीयबासीले राती करिब १० बजे हल्ला गदैं घरभित्र प्रवेश गरेपछि केही जानकारी नभएको प्रहरीलाई बताएका छन् ।
मंगलबार विहान वडा सदस्य रमेश फगामीलाई स्थानीयले घटनाका बारेमा जानकारी गराएपछि मंगलाघाटमै रहेको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । श्रीमतिको हत्या गरेपछि श्रीमति बिरामी छ भन्दै रित्तो खुट्टा बजारतिर आएका अभियुक्त राजु हाँडेभिरमा विहान चप्पल मागेपछि फरार छन् । घटनाको थप अनुसन्धान र फरार अभियुक्तको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।