सूचना पाएको दुई घण्टामै श्रीमतिको हत्या गरी भागेको राजु पक्राउ

0
49

म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट आरनटोलमा श्रीमति भगवती विकको हत्या गरी भागेका राजु  विकलाई प्रहरीले सूचना पाएको दुई घण्टामै नियन्त्रणमा लिएको छ ।

विहान करिब ६ बजे घरको आगनमा मृत अवस्थामा भेटिनुभएकी २७ बर्षिया भगवतीका बारेमा स्थानीय जनप्रतिनिधि रमेश फगामीले मंगलाघाट प्रहरी चौकीलाई सूचना दिएपछि अनुसन्धानको टोली सहित पुग्नुभएका प्रहरी निरीक्षक सागर पौडेलले हत्यामा श्रीमानको संंलग्नताको पुष्टी गरेपछि खोजीकार्य सुरु भएको थियो ।

खोजीकार्यको क्रममा ८ बजेर २० मिनेटमा बेनपा-२ हाँडेभीरको सामुदायिक बनमा लुकेको अवस्थामा अभियुक्त राजु बिकलाई पक्राउ गरेको सूचना अधिकारी पौडेलले बताउनुभयो । ‘मुचुल्का र खोजीकार्यमा जुटेका थियौं, सिसीटिभी फुटेजबाट पनि अभियुक्तलाई समयमै समात्न सजिलो भयो’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो ।

हत्या गरी मंगलाघाटबाट हाँडेभिर पुगेको स्थानीय र सिसीटिभीबाट समेत देखिएपछि प्रहरीको टोलीले आसपासका क्षेत्रमा खोजीकार्य गरेको थियो ।रघुगंगा गाउँपालिका-६, ठाडाखानी घर भएका अभियुक्त विकले श्रीमतिलाई दैनिकजसो कुटपिट गर्ने गरेका थिए ।

६ दिन अगाडी मात्रै मासिक २२ सय भाडा दिने सहमतिमा आरनटोलमा बस्दै आएकी भगवती पर्वतको जलजला गाउँपालिका वडा नं ३ गुफाटोलमा रहेको माइतीघरमा ८ बर्षिय छोरालाई हेर्न आएको आमा गुमा विकले बताउनुभयो ।

‘छोरासँग कुराकानी गरेर बसेपछि राती ज्वाईसँगै गएकी थिई, मैले पिटछ्, यतै बस भनेको थिए, मानिन ।’ आमा गुमाले भन्नुभयो । मदिरा सेवन गरी दैनिकजसो झगडा गर्ने भएपछि नातिलाई आफुँले राखेको उहाँको भनाई छ । मदिरा सेवन नै घटनाको प्रमु्ख कारण भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा सदस्य विश्वास श्रेष्ठ, रमेश फगामी सहितको टोली पुगेका थिए ।

बेनीबजारमा दैनिकजसो माग्ने नदिए चोरी गरेर समेत हिड्ने गरेका अभियु्क्त राजुका कारण बेनीबजारबासीले हैरानी खेप्नुपरेको थियो । घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत म्याग्दीबाट मम्याद थप गरी कतब्य ज्यान अन्तरगत अनुसन्धान गरिने छ ।