म्याग्दीको बेनी नगरपालिका वडा नं ४ डाँडाखेत निवासी ८४ वर्षीय कृष्णबहादुर बानियाँले चौरासी पुजा गर्ने खर्च गरीब तथा निमुखा बालबालिकाको शिक्षादीक्षामा सघाउन विद्यालयमा अक्षयकोष स्थापना र शिवालय मन्दिरको पुननिर्माणमा सहयोग गर्नुभएको छ ।
स्थानीय बालमन्दिर आधारभूत विद्यालयका पूर्व अध्यक्ष समेत रहनुभएका बानियाँले श्रीमति कलावतीको नाममा विद्यालयमा ५१ हजार र पुननिर्माण हुदै गरेको हिन्दू धर्मको आस्थाको प्रतीक शिवालय मन्दिरलाई ५० हजार सहयोग गर्नुभएको स्थानीय यूवा सुमन बानियाँले बताउनुभयो ।
‘चौरासी पूजा भन्दा विद्यालय र मन्दिरलाई सहयोग गराउनु पून्य काम हो भन्ने लाग्यो। त्यसैले पूण्य मध्येको कामका लागि सहयोग गरेको हुँ’ कृष्णबहादुरको भनाई उद्धित गदैं बानियाँले बेनीअनलाइनलाई भन्नुभयो ।
गाउँका विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहनुभएका कृष्णबहादुरका परिवारका सदस्यले हिन्दू धर्मअनुसार चौरासी पूजाका लागि चासो देखाएपनि कृष्णबहादुर दम्पत्तीले सामाजिक कार्य नै सबैभन्दा उत्तम भएको भन्दै सहयोग गर्नुभएको हो।
विद्यालयमा स्थापित कोषबाट विपन्न बालबालिकालाई सहयोग गरिने प्रधानध्यापक रामप्रसाद पौडेलले बताउनुभयो । प्रअ पौेडेलले समाजका लागि उदारहणीय व्यत्तिबाट सबैले सिक्नुपर्ने बताउनुभयो ।
चौरासी पूजामा प्राप्त हुने आर्सिवाद विपन्न बालबालिकाको शिक्षादीक्षा सहित धार्मिक क्षेत्रमा गरेको सहयोगबाट मिल्ने समाजसेवी कृष्णबहादुरको भनाई छ । विद्यालय परिवारले बधाई तथा शुभकामना दिदैं स्वागत समेत गरेका थिए ।