सरकार र आन्दोलनरत शिक्षक महासंघबीच भएको ९ बुँदे सहमति मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै शिक्षकहरूको सडक आन्दोलन तत्कालका लागि स्थगित भएको छ।
सहमतिमा विद्यालय शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने र शिक्षक–कर्मचारीका लागि स्वास्थ्य उपचारमा छुटको व्यवस्था गर्ने उल्लेख छ।
शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री रघुजी पन्तले सहमति कार्यान्वयनका लागि सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने जानकारी दिए।
“प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति प्रक्रियामा निरन्तर चासो र निर्देशन दिएर सहयोग गर्नुभयो,” पन्तले भने। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबारदेखि सडक आन्दोलन नहुने बताए।
सहमतिअनुसार शिक्षक–कर्मचारीले निजामती अस्पतालबाट स्वास्थ्य उपचारमा छुट पाउनेछन्। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच भएको सहमति अनुमोदन गरेको हो।
विगत २९ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलनले विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो। सहमतिपछि बिहीबारदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन सहज हुने अपेक्षा गरिएको छ।
सहमति कार्यान्वयनको प्रगति र शिक्षा ऐनको मस्यौदा निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको शिक्षामन्त्री पन्तले बताए।