अब बसेकै ठाउँबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने, तीन महिना कुर्नु पनि नपर्ने

0
22

स्वास्थ्य बिमा गर्नेले अब आफू बसेकै स्थानमा प्रस्थानविन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थानविन्दु कायम गर्ने गरी स्वास्थ्य बिमा नियमावली संशोधनसम्बन्धी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको हो ।

मन्त्री पौडेलले यसअघि बिमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै ठाउँमा प्रथमविन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधबार (वैशाख १७)को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

यसले ‘रेफर’ लिन बिमा गराएकै स्थानमा पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बिमामा आबद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।

यस्तै, मन्त्रिपरिषद्‌बाट पारित प्रस्तावानुसार अब स्वास्थ्य बिमाको सेवा लिन तीन महिना पर्खनु पर्दैन । अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिन थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताए ।

“स्वास्थ्य बिमामा आमनागरिकको पहुँच वृद्धि गर्न संशोधन आवश्यक थियो,” मन्त्री पौडेलले भने, “स्वास्थ्य बिमालाई बढी व्यावहारिक र सहज बनाउन यसले भूमिका खेल्नेछ ।”

यसैगरी, अब सबै तहमा स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु कायम हुनेछ । हाल प्रथम सेवाविन्दु सबै तहमा छैन । संशोधनानुसार अब हरेक तहमा यस्तो व्यवस्था हुनेछ । यसले बिमामार्फतको आधारभूत सेवा लिन टाढा जानुपर्ने अवस्था समेत अन्त्य हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।