अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

भौतिक पूर्वाधारको पर्खाइमा नर्जा झरना

On: May 1, 2025 10:27 PM
Follow Us:
---Advertisement---

म्याग्दीमा भ्रमण गरेर रमाउने ठाउँहरु थुप्रै छन् । यहाँ अग्ला हिमालका चुचुराहरु, आधारशिविर, डाँडापाखा, कुनाकन्दरा, भञ्याङ–चौतारी, विभिन्न तालतलैया, पदमार्ग, पुराना मठमन्दिर, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेका छन् ।

म्याग्दी जिल्लामा रुप्से, नारच्याङ, महभीर, दुग्धबग्ने, नर्जालगायत झरनाहरु पर्यटक आकर्षणको केन्द्रका रुपमा अवस्थित छन् । अग्लो ठाउँबाट हुत्तिँदै खसेको पानीको छाँगोलाई हामीले झरना भनेर चिन्छौं । त्यसैमध्ये एक हो म्याग्दीको नर्जा झरना पनि ।

एकनासले माथिबाट तल जमिनतिर खसिरहने निकै सुन्दर, आकर्षक अनि मनमोहक म्याग्दीको नर्जा झरना जति हे¥यो उति हेरिरहुँ जस्तो लागिरहन्छ ।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङ र ३ नम्बर वडा मुनाको सिमानामा पर्ने नर्जा झरना पर्यटक र भौतिक पूर्वाधार विकासको पर्खाइमा छ । झरनासम्म पुग्ने सहज पदमार्ग तथा झरना आसपासका क्षेत्रमा पर्यटकलक्षित आवश्यक संरचनाहरु निर्माण नहुँदा पर्यटकीय आकर्षणको सम्भावनायुक्त नर्जा झरना ओझेलमा पर्दै जान थालेको छ । म्याग्दीमा यस्ता झरनाहरु थुप्रै छन् । कतिपय झरनाहरु वर्षामा मात्रै सुस्साउँछन् भने केही झरना बाह्रैमास सुस्साइरहन्छन् । कतिपय झरनाहरु प्रकृतिले बनाएका हुन्छन् भने केही मानवनिर्मित ।

नर्जा झरनाको बारेमा जानकारी पाउनेहरु सायदै कम होलान् । घाम परेको समयमा इन्द्रेणी समेत देख्न सकिने यस झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्दै गएको छ ।

झरनाकै कारणले गर्दा पर्यटकको चहलपहल बढेको स्थानीयवासी बताउँछन् । नर्जा झरना हेर्दा निकै सुन्दर, आकर्षक र मनमोहक छ । लुलाङ र मुना गाउँको माथिल्लो सिमानाबाट झर्ने नर्जा झरनाभन्दा माथि मानव वस्ती नभएको हुँदा झरना एकदमै सफा र कञ्चन रहेको बताइन्छ ।

पछिल्लो समय शनिबार तथा विदाको दिन झरनामा रमाउन पर्यटकहरु धेरै जाने गर्दछन् भने धवलागिरि गाउँपालिकामा विभिन्न कार्यक्रम लिएर जानेहरु पनि त्यहाँ पुग्छन् ।

झरनालाई पृष्ठभूमीमा पारेर सेल्फी फोटो र भिडियो खिच्न तथा टिकटक बनाउनको लागि भए पनि पर्यटकहरु नर्जा झरनामा जाने गरेको पाइन्छ । झरनामा पुगेर मोबाइलमा टिकटक बनाउनेहरुको पनि भीड लाग्ने गरेको छ ।

गर्मी छल्न समेत मानिसहरु यस झरनामा जाने गरेको स्थानीवासीको भनाइ छ । नर्जा झरना गूर्जा र चुरेन हिमाल जाने पदमार्ग अन्तर्गत पर्दछ ।

आन्तरिक पर्यटक राजेन्द्र सापकोटाले नर्जा झरनामा पुगेर रमाउन पाउँदा आफूलाई निकै आनन्दको अनुभूति मिलेको अनुभव सुनाउनुभयो ।

धवलागिरि गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुमध्ये एक मानिने नर्जा झरनाको प्रचारप्रसार तथा यहाँ भौतिक पूर्वाधारहरु बन्न नसक्दा ओझेलमा परेको छ । पर्यटकीय सम्भावना बोकेको यस झरनामा पर्यटकलक्षित भौतिक पूर्वाधारहरु बनाउन सकेमा धवलागिरि गाउँपालिकाको पर्यटन प्रवद्र्धन हुने देखिन्छ ।

झरना आसपास क्षेत्रमा पर्यटकलक्षित गोलघर, सेल्फी, फोटो, भिडियो र टिकटक बनाउने ठाउँ, खाने, बस्ने तथा रमाउने ठाउँहरु, बस्न, फोटो खिच्न कुर्सी तथा बेन्चलगायत संरचनाहरु जडान गर्नुपर्ने आवश्यकता देखिन्छ ।

झरनाको पर्यटन प्रवद्र्धन गर्न डिपिआर निर्माण गरी आवश्यक बजेट व्यवस्थापनको लागि पहल गरिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

उहाँले गाउँपालिकाको आफ्नै स्रोतबाट पूर्वाधार बनाउन सम्भव नभएकाले नर्जा झरनासहित धवलागिरि गाउँपालिकामा रहेका अन्य पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासका लागि माथिल्लो निकायमा बजेट माग गरिएको जानकारी दिनुभयो ।।

प्रताप बानियां

प्रताप बानियां बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।