ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

0
14

ढोरपाटन सिकार आरक्षमा चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो याम (फागुन–वैशाख) मा ११ नाउर र सात झारलको सिकार भएको छ ।ढोरपाटन शिकार आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकारयामका लागि १३ नाउर र १० वटा झारलको कोटा निर्धारण गरी अनुमति दिएको थियो । तर, दोस्रो याममा कोटाभन्दा दुई नाउर र तीन झारलको कम सिकार भएको हो ।

नेपाल ट्राभल एक्सपिडिसन प्रा.लि. जावलाखेल ललितपुरमार्फत आएका तीन र हिमालयन वाइल्ड लाइफ आउटफिर्टसबाट आएका एक विदेशी सिकारीले यस पटक निर्धारित कोटाभन्दा पाँच वटा वन्यजन्तुको सिकार गर्न नसकेको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो ।

रेन्जर सुवेदीले नेपाल ट्राभल एक्सपिडिसन प्रा.लि. मार्फत एक नाउर र एक बँदेलको सिकार अनुमति प्राप्त गरेका अमेरिका नागरिक मार्क भर्नन पिटरसन सिकार गर्न नआएको बताउनुभयो । यस्तै, एक नाउर र एक झारलको सिकार अनुमति पाएका फ्रान्सेली नागरिक ओलिभर चाल्र्स भेरिजले सिकार गर्न सकेनन् ।

ओलिभर सिकारका लागि ढोरपाटन आए पनि दोगाडी ब्लकमा नपुग्दै हतियारमा समस्या आएपछि बिचबाटै घर फर्किएको रेन्जर सुवेदीले जानकारी दिनुभयो ।

एक–एक नाउरको सिकार गरेका नेपाल ट्राभल एक्सपिडिसन प्रा.लि. मार्फत अमेरिकन नागरिक जेम्स लेरोय जोनसन र हिमालयन वाइल्ड लाइफ आउटफिर्टस मार्फत स्पेनिस नागरिक मार्कोस ओलाइजोला अल्कोर्टाले झारलको सिकार गर्न सकेनन् ।

उनीहरुको नाउर सिकारपछि व्यक्तिगत समस्याले झारलको सिकार नगरी फर्किएको रेन्जर सुवेदीले बताउनुभयो । जेम्सले गुस्तुङ्ग ब्लकमा एक नाउर र मार्कोसले सुनदह ब्लकमा एक नाउरको सिकार गर्नुभयो ।

हिमालयन वाइल्ड लाइफ आउटफिर्टसमार्फत स्पेनिस नागरिक एडुआर्डो सान्चेज ओकानागुन्डिनले सेङ, घुस्तुङ्ग ब्लकमा एक नाउर र एक झारल, ट्रयाक्स एन्ड ट्रेल्स प्रा.लि. मार्फत दुई अमेरिकन नागरिक जोहान लि. एमिस्टोसो र केभिन क्लम्परले सेङ र गुस्तुङ्ग ब्लकमा दुई नाउर र दुई झारलको सिकार गर्नुभएको हो ।

यस्तै, हिमालयन सफारिज प्रा.लि. मार्फत तीन अमेरिकन नागरिक डेभिड युजिन टटल, जेसिका जोय भान्डेन बर्ग र रायन जे बर्टले दोगाडी (पूर्वी रुकुम) ब्लकमा तीन नाउर र एक झारलको सिकार गरेको रेन्जर सुवेदीले बताउनभयो ।

ग्लोबल सफारिज नेपाल प्रालि. मार्फत रसियन नागरिक एन्ड्री जायकाले फागुने ब्लकमा एक नाउर र एक झारल र अमेरिकन नागरिक माइकल बन्र्स मिलर जुनियरले बार्सेमा एक नाउर, ओपन नेपाल वाइल्डलाइफ सफारी एन्ड ट्रेक्स प्रा.लि. मार्फत सुनदह ब्लकमा अर्जेन्टिनाका भिगास एलेजोले एक नाउर र भेरोनेसी जुआन क्रुजले एक झारल र स्पेनिस नागरिक गोन्जालेज रेभिल्ला मिरो इमानुएल आर्टुरोले एक झारलको सिकार गरेको रेन्जर सुवेदीले बताउनुभयो ।

यस याममा १२ बँदेलको सिकार अनुमति पाए पनि कुनै पनि सिकारीले बँदेलको सिकार नगरेको रेन्जर सुवेदीले बताउनुभयो।  विभागले फागुन महिना शिकारका लागि पेशेवर सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट शिलबन्दी दरभाउपत्र आव्हान गरी बोलपत्र प्रक्रियाबाट छानिएका ६ कम्पनी मार्फत पाँच देशका १५ जना पेशेवर विदेशी सिकारीहरूले यस वर्षको दोस्रो याममा सिकार गरेका थिए ।

ढोरपाटनमा शिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिंङ, खुर र छाला मात्र आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिष्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।

सिकारी हेलिकाेप्टरबाट आरक्षमा पुग्ने गर्छन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुची राख्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शक सहितको टोलीले १५ दिन आरक्षमा बिताउने गरेका छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतिय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो सिकार आरक्ष फैलिएको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।