---Advertisement---

भैरहवामा ८० कराेड लगानीमा खुल्यो कोरियन ब्रान्डको चाउचाउ उद्योग

On: May 2, 2025 12:14 PM
Follow Us:

कोरियामा स्थापित नेपाली व्यवसायी विनोद कुँवरले प्रिमियम गुणस्तर र कोरियन प्रविधिमा आधारित ‘हाङकुक’ ब्रान्डको चाउचाउ उद्योग स्थापना गरेका छन्।

कुँवरले छिमेकी भारतसहित विभिन्न मुलुकमा निर्यात गर्ने उद्देश्यले भैरहवामा कोरियन ब्रान्डको चाउचाउ उद्योग सञ्चालन गरेका हुन्।

तीन वर्षको परीक्षणपछि ‘हाङकुक’ ब्रान्डको चाउचाउ नेपालमा उत्पादन हुने भएको हो। नेपाली बजारमा पहिलो पटक अत्याधुनिक प्रविधिबाट उत्पादित प्रिमियम चाउचाउ व्यावसायिक उत्पादन गरिने भैरहवास्थित हिमालयन म्यानुफ्याक्चरिङ कम्पनीका अध्यक्ष कुँवरले बताए।

अबको ७ दिनमा यो चाउचाउ बजारमा ल्याइने उनको भनाइ छ। ‘हामी ७ दिनभित्र यो चाउचाउ बजारमा ल्याउँछौं। कम्पनीद्वारा उत्पादित हाङकुक चाउचाउको बजार भारतमा ठूलो छ, यो चाउचाउ नेपाल, भारतलगायतका अन्तर्राष्ट्रिय बजार पुर्याउने लक्ष्य छ’, उनले भने।

अध्यक्ष कुँवरका अनुसार खाद्य विभागको स्वीकृति, ब्रान्ड दर्तालगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा भइसकेका छन्। ‘नेपालमै पहिलो पटक यस्तो गुणस्तरको चाउचाउ उत्पादन गर्न सफल भयौं, जुन बजारमा आयातीत प्रिमियम चाउचाउभन्दा उत्कृष्ट र सस्तो पर्न जान्छ,’ उनले भने।

अन्तर्राष्ट्रिय गुणस्तरको ‘हाङकुक’ ब्रान्डको चाउचाउको तौल १३० ग्राम रहेको छ। यसको बजार मूल्य प्रति प्याकेट १३० रुपैयाँ पर्ना जान्छ । यही गुणस्तरको आयात गरिएको चाउचाउको बजारमा मूल्य प्रतिप्योकट १८० देखि २२० रुपैयाँसम्म पर्ने कुँवर बताउँछन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) पूर्वअध्यक्षसमेत रहेका कुँवरले उद्योगमा ८० करोड रुपैयाँभन्दा बढीको लगानी गरेका छन्। उद्योगमा एक सय जना बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।

आगामी दिनमा लगानी वृद्धिसँगै थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। अहिले कोरियाबाटै पनि दक्ष जनशक्ति झिकाएर उत्पादन गरिएको छ।

उनले नेपालमा कोरियन मदिरा सोजु उत्पादन गर्दै आएका छन्। यसले नेपाली बजारमा गुणस्तर र मूल्य दुवैको हिसाबले नयाँ विकल्प दिने विश्वास कम्पनीको छ।

आयातीत वस्तुलाई प्रतिस्थापन र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ।