बेनी नगरमा १५ दिने महिला फुटबल प्रशिक्षण सुरू

0
34

बेनी नगरपालिकामा महिला फुटबल खेलाडी उत्पादन गर्न १५ दिने निःशुल्क महिला फुटबल प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिकाको मुख्य आर्थिक सहयोग तथा विभिन्न फुटबल प्रेमीहरुले गरेको सहयोगमा बेनी नगर फुटबल संघद्धारा आयोजित तालिमको शनिबार नगरपालिकाको सभाहलमा उद्घाटन गरिएको छ।

बेनी नगर प्रमुख सुरत केसीले नगरपालिका भित्र फुटबल खेल्न चाहने छात्रालाई सुन्दर अवसर भएकाले यसपटकको प्रशिक्षण प्रभावकारी भएमा आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो। सोही अवसरमा उपमेयर ज्योति लामिछाने पौडेलले खेलकुदमा छात्राका लागि आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो।

प्रशिक्षण उद्घाटन कार्यक्रममा बेनी नगर फुटबल संघका अध्यक्ष देबेन्द्र चोखालले प्रशिक्षणबाट नगरपालिकास्तरीय महिला फुटबल टिम तयार गरिने बताउनुभयो । यसपटक प्रशिक्षणबाट म्याग्दी जिल्लाका पालिकास्तरमा रहेका छात्रा फुटबलका खेलाडीको पहिचान हुने अध्यक्ष चोखालको भनाई छ ।

आइतबारदेखि खुल्लामञ्चमा हुने प्रशिक्षणमा एन्फा मान्यताप्राप्त प्रशिक्षकले प्रशिक्षण गर्ने छन् । प्रशिक्षणको उद्घाटन कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष चोखाल, स्वागत जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँ र सञ्चालन सचिव छवि आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अणबहादुर खड्का, सदस्य सन्दिप खत्री, म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती, पूर्व अध्यक्ष बिरेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

जिल्ला खेलकुद विकास समिति, जिल्ला फुटबल संघको सहकार्यमा हुने प्रशिक्षणमा फुटबलको आधारभूत, प्राविधिक पक्षमा ज्ञान दिइने छ भने अभ्यास खेल समेत खेलाइने छ ।

म्याग्दीमा हुने महिला फुटबल प्रतियोगिताकै कारणमहिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट मंगला गाउँपालिका–२, सहस्रधाराकी निकिता सिङ ठकुरी र मालिका गाउँपालिका–५, देविस्थान दांगाकी दिपा बुढा टिममा छनौट हुनुभएको थियो ।

त्यस्तै गण्डकी प्रदेश फुटबल संघको प्रतियोगिताका लागि छनोट खेलमा ११ जिल्लाबाट १३५ जना खेलाडीको उपस्थिति रहेकोमा म्याग्दीबाट ९ जनमध्ये ८ जना पहिलो चरणमा पर्न सफल भएकाले प्रदेशस्तरीय तालिमका लागि छनौट भएको अवस्थामा बेनी नगरपालिकास्तरीय प्रशिक्षणले थप नयाँ खेलाडीलाई अवसर मिल्ने बताइएको छ ।