म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ ।
सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको रु. ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार निर्माण भएको छ ।
उक्त पूर्वाधारहरुको गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रि एबम् प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । यसैगरी बिमबासीहरुले स्वदेश तथा विदेशमा चन्दा संकलन गरेर रु. २८ लाख लगानीमा निर्माण भएको गोलघरको बिम–काठमाडौ सम्पर्क समाजका विदेश विभाग प्रमुख कृष्णप्रसाद जुग्जालीले उद्घाटन गर्नुभयो ।
स्थानीय काठ, ढुंगा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर बनाउन प्रवासमा रहेका बिमबासीहरुले सहयोग गरेका जुग्जालीले बताउनुभयो । उद्घाटनका अवसरमा ध्यान केन्द्र सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न उहाँले रु. २५ हजार सहयोग गर्नुभयो ।
परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारिरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको प्रभुचेला धुरी प्रर्वद्धन समाजका अध्यक्ष टिकाबहादुर जुग्जाली (नविन)ले बताउनुभयो ।
परापुर्वकालमा ऋषीमुनीहरुले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ । विभिन्न दाताहरुले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाउनु भएको छ ।
पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुननिर्माण गर्नुभएको छ । छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाउनु भएको छ । रुपलाल पुनको संयोजकत्वमा स्व. मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र टंकी निर्माण भएको छ ।
गोलघर र आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राती, हिउँ, पानी परेको र घाम चर्किदाँ आश्रय लिन सहज भएको छ । परापुुर्व कालमा ऋषिमुुनीहरुले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरु पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण गरिएको हो ।
वस्तीदेखि टाढा र जंगलको बिचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि प्रभुुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्न पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट बजेट बिनियोजन गराएको उहाँले बताउनुभयो । रु. २० करोड बजेट बिनियोजन गरेर खारादेखि बिम जोड्ने सडक स्तरोन्नति थालिएको जानकारी दिदै उहाँले प्रभुचेला र मालिका धुरी जोड्ने सडकलाई पनि स्तरोन्नतिका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकहरुलाई सहज भएको प्रभुुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सदस्य समेत रहेका वडा अध्यक्ष टकलाल पुनले बताउनुभयो । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङ देखि प्रभुचेला धुरीलाई सडकले जोडिएको वडा अध्यक्ष पुनले बताउनुभयो ।
बिम गाविसका पूर्व अध्यक्ष रुपप्रसाद पुनका अनुसार प्रभुुचेलाको धार्मिक महत्व नभुुझेर यहाँ केही वर्षअघिसम्म स्थानीयबासीले गाईभैसी र भेडाबाख्राको गोठ राख्ने खर्क बनाएका थिए ।
प्रभुचेला धुरीमा एक सय वर्षअघि सम्म ऋषिमुनीहरुका लागि तपस्या स्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरु आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि.स. १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गर्नुभएको थियो ।
कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङखला अवलोकन गर्न पाउनु अर्को विशेषता भएको प्रभुचेला धुरी प्रर्वद्धन समाजका सचिव सुरमान गर्बुजाले बताउनुभयो ।
समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाईमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ । मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना रहेको प्रभुचेलाको व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो ।
उद्घाटन कार्यक्रममा बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, बिम मालिका संघ काठमाडौका रामबहादुर जुग्जाली, नविन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेल, ओमकुमारी थापा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कलाकार दिलु पुनले गित, नौमती बाजा समूहले बाजा, स्थानीय आमा समूह र योग समूहहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।