बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
जन्मेदेखि १५ महिना भित्रका तीन सय ९८ जना बालबालिकाले नियमित खोप लगाइरहेको र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार दुई सय ९२ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएपछि जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।
दश वटा वडा हरेको नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप लगाएको निश्चित भएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित एक समारोहबिच नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिकाको रुपमा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबैखोपको मात्रा पुरा गरेको बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले जानकारी दिनुभयो ।
चालु वर्षमा म्याग्दी जिल्ला भित्रका अन्नपूर्ण गाउँपालिका, धवलागिरी गाउँपालिका, मालिका गाउँपालिका, मंगला गाउँपालिका, रघुगंगा गाउँपालिकाले पूर्ण खोप सुनिश्चिता घोषणा गरिसकिएको छ । जिल्ला भित्रका सबै स्थानीय तहहरु घोषणा गरेर वैशाख २५ सम्मा जिल्लालाई नै पूर्णखोप सुनिश्चित घोषणा गर्ने योजना रहेको जिल्ला खोप समन्वय समिति म्याग्दीले जनाएको छ ।
खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिकाको रुपमा घोषणा गरिएको छ । बालबालिकाहरुले पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेको छ ।