२२ दिनदेखि बेपत्ता सतिशको अवस्था अझै अज्ञात

0
22

म्याग्दीको बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठ हराएको २२ दिन वितिसक्दा समेत अत्तोपत्तो नभएपछि परिवार चिन्तित छन् । गत चैत्र ३१ गते बेनीबाट पोखराका लागि हिडेका सतिश बैशाख १ गते पोखरा महानगरपालिका–६, कास्कीको होटल स्नो पिक, टाटु खोपे भेटिएपनि पोखराबाट सम्पर्कविहिन भएपछि हालसम्म कुनै जानकारी नआएको पारिवारिक स्रोतले जनाएको छ ।

पोखराबाट अचानक बेपत्ता हुनु ‘रहस्यमय’ भन्दै खोजीकार्यमा सहयोगका लागि दाई शैलेश श्रेष्ठले अनुरोध गर्नुभएको छ । ‘‘घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा छैनन, जहाँ भएपनि सम्पर्कमा मात्रै भएपनि आउन विभिन्न माध्यमबाट अपिल गरेका छौ ।’’ दाई श्रेष्ठले भन्नुभयो । लामो समयसम्म पोखरामा खोजी गरेपनि कुनै पत्ता नलागेपछि अन्य सम्भावित क्षेत्रमा परिवारका सदस्य केन्द्रित भएको बताइएको छ ।

सतिश पोखरा गएको एक सातासम्म परिवारको सम्पर्कमा नआएपछि गत बैशाख ६ गते परिवारले हराएको सूचना दिएका थिए । आफन्तजन, साथीभाइ सबैसँग सोधीखोजी गर्दा समेत कही कतै नभेटेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सहयोगको अनुरोधमा खोजीकार्य भइरहेको छ । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविका शिक्षक समेत रहनुभएका सतिशले टाटु खोपेको सिसीटिभी फुटेज फेला परेको छ ।

त्यहाँका सञ्चालकलाई अब काठमाण्डौ जान्छु र फर्किएपछि अर्को टाटु खोप्नु छ भनेर सतिशले बताएको एक टेलिभिजन कार्यक्रममा बताएका छन् । सतिशको खोजीका लागि नेपाल प्रहरीले समेत विभिन्न माध्यमबाट सक्रियता देखाइरहेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमार्फत हुलिया सहित विभिन्न क्षेत्रमा खोजीकार्यमा जुटेको छ । यसैबीच सतिशका साथी प्रमोद शर्माले जहाँ भएपनि आफ्नो सम्पर्कमा आउन अपिल गर्नुभएको छ ।