दोवाको अस्पताल भवन अलपत्र : बजेट र जनशक्तिको अभाव

0
42

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवामा तीन वर्ष अघि निर्माण सम्पन्न भएको पाँच शैया क्षमताको भूकम्प प्रतिरोधी भवन  अस्पताल भवन अहिलेसम्म पनि प्रयोगमा आउन सकेको छैन । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको स्थलगत अनुगमन गरेर पनि सञ्चालन गर्ने सन्दर्भमा अन्यौलता नै जनाउनु भएको छ ।

मन्त्री पाठकले सडकको अवस्था कमजोर र बस्ती भन्दा अपायक ठाउँ जस्तो भुगेलमा भएकोले अस्पताल सञ्चालन नै अन्योलै देखिएको बताउनु भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पनुले जानकारी दिनुभयो । हामीले मन्त्रीज्यूलाई अस्पताल भवनको निरीक्षणमा लगेका थियौँ, तर भौगोलिक अवस्था तथा सडकको स्तरले गर्दा पनि कहिलेबाट अस्पताल सञ्चालन गर्ने भन्ने यकिन भन्न सक्ने अवस्था नदेखिएको उहाँले भन्नुभयो–अध्यक्ष पुनले सुनाउनुभयो ।

दोवामा १२ रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अस्पतालमा अपाङ्गमैत्री भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ वटा कोठा रहेका छन् ।

भवनको तल्लो तलामा विभिन्न उपचार कक्ष राखिने छ भने माथिल्लो तलाका केही कोठा चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवासको रुपमा प्रयोग गरिने जनाइएको छ ।भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना-अमित जेभीसँग पाँच करोड १२ लाख ६० हजार छ सय ५२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

अस्पताल निर्माण गर्न अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना, नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, घमती पुर्जाले १३ आना, र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको स्थानीयले बताएका छन् ।

अस्पताल सञ्चालनमा आएपछि दोबाबासीलाई उपचारमा सहज हुने भएपनि पालिका भित्रका अन्य वडाका बासिन्दालाई सहजतका लागि बेनी-पोखरेबगर सडकखण्डबाट दोवा जोड्ने ग्रामिण सडकमा ढलान, कालोपत्रे सहितको स्तरोउन्नती आवश्यक देखिएको छ ।

म्याग्दीको मंगला, धवलागिरीमा निर्माणधिन अवस्थामै रहेको र रघुगंगा गाउँपालिकामा जग्गा सहितको प्राविधिक पक्षमा ढिलासुस्तीका कारण अलपत्र परेको छ । स्थानीय तहले ठेकेदारलाई ताकेता गर्दा समेत भवन समयमै सम्पन्न हुन सकेको छैन भने बनेका भवन नै प्रयोगमा नआउँदा स्थानीयबासी आक्रोशित छन् ।