म्याग्दीमा रहेको अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाउने

0
27

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ । विश्वमै आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको कारण जेठो हिमाल भनेर समेत चिनिने अन्नपूर्ण हिमालको प्रचारप्रसार सहित यसका बारेमा जानकारी दिन हिरक महोत्सव गर्न लागिएको हो ।

सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा समेत जोडिएको अन्नपूर्ण हिमालको आरोहणका गर्ने आधारशिविर सहित मार्ग र तत्कालिन समयमा गरिएका आरोहणस्थलको सम्पूर्ण भूगोल म्याग्दीमा पर्छ ।

आरोहणको ७५ वर्षपछि पहिलो पटक सम्बन्धित भूगोलमा महोत्सव मनाउन आवश्यक यतारी गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । अध्यक्ष पुन भन्नुहुन्छ,‘‘तयारीमा जुटेका छौ, सबैको साथ र सहयोगको अपेक्षा गछौं ।’’ अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको बारेमा यो नै पहिलो हिरक महोत्सव भएकाले एतिहाँसिक बनाउने गरी तयारी सुरु भएको छ ।

महोत्सवको कार्यतालिका सहित अन्य विभिन्न कार्यक्रमहरु समेत सार्वजनिक भएको छ । जस अन्तरगत महोत्सवको अवसरमा जेठ १६ देखि १९ गतेसम्म नारच्याङदेखि अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा, १९ गते प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्गोजले लेखेर फ्रान्सेली राजदुतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम तय भएको पर्यटन अभियान्ता तेज गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा आगामी जेठ १९ र २० गते अन्नपूर्ण गाउँपालिकाका सबै८ वटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुख्र्यौली नृत्य तथा झाँकी प्रदर्शनी, खुला नृत्य, जेठ २० गते आधार शिविरदेखि नारच्याङसम्म म्याराथन दौड प्रतियोगिता, आधार शिविरमा राखिएका आरोहीका शालिक अनावरण, सङ्ग्रहालय र मौरिस हर्गोज पदमार्गको उद्घाटन, मूल समारोह, सम्मान तथा पुरस्कार वितरण र २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा महोत्सवमा समापन गरिने छ ।

महोत्सवको आयोजक अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) रहेको छ भने अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक तोकिएको छ । महोत्सवमा स्थानीय नारच्याङमा रहेका संघसंस्थाका साथै अन्नपूर्ण भित्रका यूवा क्लवहरूलाई समेत विभिन्न जिम्मेबारी प्रदान गरिएको छ।

पछिल्लो समय म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य बनेको अन्नपूर्ण बेसक्याम्पमा आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको छ। आधार क्षेत्र नजिकै रहेको पञ्चकुण्ड ताल पर्यटकको आर्कषक मानिन्छ । मुस्ताङको कुञ्जो हुदै आधार शिविर जाने पदमार्ग जोखिमयुक्त र घुमाउरो थियो । बि.स. २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । नारच्याङबाट तेस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ ।