झिँमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

0
4

म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई करोड साठी लाख रुपैयाँ बढी लगानीनमा निर्माण भएको दुई तले भवनको सोमबार आयोजित एक भव्य समारोहका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीका अनुसार ,शौचालय बाथरुम सहित एक सभाहल र पाँच वटा कोठा रहेको भवन निर्माणमा गाउँपालिका र संघीय सरकारबाट एक करोड ५१ लाख १७ हजार बढी लगानी भएको छ।

जग्गा खरिदमा ५९ लाख ,घेराबार सहित पर्खाल ,मैदान निर्माणमा २७ लाख रुपैयाँ खर्च भएको छ । पहिलो तला स्थानीय उपभोक्ता समितिले निर्माण गरिएको हो भने सभाहल सहितको दोस्रो तला शङ्कर निर्माण सेवा कम्पनीले निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।

दोस्रो तला निर्माणका लागि कम्पनीसँग आर्थिक वर्ष २०८० फागुन २२ गते सम्झौता भएर ०८१ असारमा सम्पन्न भएको थियो। भने पहिलो तला अघिल्लो आर्थिक वर्षमा निर्माण भएको थियो । निर्माण सँगै भवन वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । भवनमा सोलार ,विद्युत जडान गरिएको छ ।

गाउँपालिका अध्यक्ष भण्डारीले भवन निर्माण भएपछि वडाबासी र कार्यालय सञ्चालनमा सहज हुने बताउनुभयो । उहाँका अनुसार, ८ वटा वडा रहेका रघुगङ्गामा अहिलेसम्म वडा नम्बर ५ सहित १,२ र ६ नम्बर वडा कार्यालयको आफ्नै भवन निर्माण भएका छन् । वडा नम्बर ७ को जग्गा व्यवस्थापन भएको र भवन निर्माणको लागि बजेट माग गरिएको उहाँले जानकारी दिनुभयो ।

यस अघि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको र भवन निर्माण भएपछि वडा कार्यालय सञ्चालन ,सेवा प्रवाहमा सहज हुने वडा अध्यक्ष मनबहादुर शेरमन्जाले बताउनुभयो । उहाँका अनुसार ,स्थानीय विष्णुप्रसाद शेरचनले साढे तीन रोपनी जग्गा सहुलियत मुल्यमा उपलब्ध गराउनुभएको थियो । जग्गा व्यवस्थापन पक्रियामा साविक झीँ गाविसका ९ वटै वडाका समुहले एक लाख रुपियाँका दरले सहयोग गरेको वडा अध्यक्ष शेरमन्जाले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन , प्रमुख प्रशासकीय अधिकृत भण्डारी ,वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी,६ का वडा अध्यक्ष मनकुमार शेरपुजा ,वडा नम्बर ७ का वडा अध्यक्ष थकबहादुर पाइजाले भवन निर्माण सँगै यसको दिर्घकालिन संरक्षणको जिम्मा वडाबासीको भएको बताउनुभयो ।

महेन्द्र माविका प्रअ यामबहादुर शेरपुञ्जा ,तल्लो तला भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर शेरपुञ्जा ,नेकपा एमाले वडा इकाई कमिटि अध्यक्ष पुर्ण बहादुर पुन ,झिँ नौमती बाजा समुह संयोजक शंक बहादुर थजाली ,सहुलियत मुल्यमा जग्गादान गर्ने समाजसेवी विष्णुप्रसाद शेरचन ,देउराली बचत तथा ऋण सहकारीकी अध्यक्ष श्रीमाया शेरपुजा लगायतले गाउँमै सुविधासम्पन्न भएपछि सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका कृषि शाखा प्राविधिक हिक्मत सार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्य धनमाया गोतामेको स्वागत मन्तव्य राख्नुभएको थियो । सहुलियत मुल्यमा जग्गादान गर्ने समाजसेवी शेरचन ,निवर्तमान वडा सदस्यहरु ,निर्माण उपभोक्ता समिति लगायत सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा स्थानीयले नृत्य , नौमती बाजा , पुर्ख्यौली र भजन प्रस्तुत गरेका थिए ।